काठमाडौं । बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सो बैठक केहीबेरअघिबाट सुरु भएकाे हो । तर, सर्वदलीय बैठकमा विपक्षी दलका नेता केपी शर्मा ओली भने सहभागी भएका छैनन् । एमाले अध्यक्ष बस्ने कुर्सी खाली नै राखिएकाे छ ।
प्रधानमन्त्री देउवाले संसद् जारी अवरोध हटाउनेलगायत विषयमा छलफलका लागि सो बैठक बाेलाएका हुन् ।
देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याएर आफ्नो दल फुटाएको साथै सभामुख अग्नि सापकोटा त्यसमा सहयोगी बनेको भन्दै एमालेले सडक र सदनमा निरन्तर विरोध गर्दै आएको छ ।
गैरसंवैधानिक अध्यादेश ल्याएर गर्नुपर्ने जति सबै काम गरेपछि बोलाइएको सर्वदलीय बैठकको कुनै अर्थ नहुने भन्दै प्रमुख सचेतक विशाल भट्टराईले अध्यक्ष केपी ओली र एमालेका कुनै प्रतिनिधि सहभागी नहुने बताए ।
यसअघि सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो।
आफूहरूले कारवाही गरेका १४ सांसदको सभामुखले सूचना टाँस गर्नुपर्ने या मार्गप्रशस्त गर्नुपर्ने माग राख्दै आएकाे छ।