काठमाडौं । नेपालमा हजार बढि दर्शक एकै ठाउँमा राखेर अन्र्तराष्ट्रिय रुपमा सम्मेलन गर्न मिल्ने कुनै हल वा सम्मेलन केन्द्र छैन ।
त्यो सपनालाई साकार पार्न तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यका र लुम्बिनीमा अन्र्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्ने वुटवलबाट घोषणा गरे ।
शुरुमा भक्तपुरमा सम्मेलन केन्द्र निर्माण गरिने भनिएतापनि पछि गोदावरीमा तीन हजारभन्दा बढि क्षमताको अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र बनाउने भन्दै बजेट विनियोजन गरियो ।
केपी शर्मा ओलीले नै दुई बर्षमा निर्माण सकिने गरि शिलान्यास गरे । समयसिमा भित्रै सम्मेलन केन्द्रको निर्माण सम्पन्न भयो । जसलाई तत्ककालिन प्रधानमन्त्रीले नै सनराइज सम्मेलन केन्द्रको नाममा उद्घाटन गरे ।
उद्घाटन भएको महिनौंसम्म सम्मेलन केन्द्रमा कुनै कार्यक्रमको आयोजना हुन सकेन । ओली सरकारलाई प्रतिगमनको संज्ञा दिदै सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवाको सरकार निर्माण भयो ।
सनराइज सम्मेलन केन्द्रमा कुनै कार्यक्रमको टुंगो थिएन । तर नेकपा एमालेले आफ्नो पहिलो विधान महाधिवेशन सनराइज सम्मेलन केन्द्रमा गर्ने घोषणा गरे ।
सोही घोषणा अनुसार आजबाट नेकपा एमालेको विधान महाधिवेशन सनराइज सम्मेलन केन्द्रमा शुरु हुदैछ । केपी शर्मा ओलीको अध्यक्षतामा नै पहिलो कार्यक्रम सनराइज सम्मेलन केन्द्रमा आयोजना हुदैछ ।
संयोग पनि मिलेको जस्तै । केपी ओलीले देखेको सभाहलको सपना, उनलै गरेको शिलान्यास अनि उनकै अध्यक्षताको पहिलो कार्यक्रम आयोजना । यसलाई नेकपा एमालेको सफलतासँग जोडिएको भन्छन् एमाले नेताहरु ।
अत्याधुनिक सुविधा सहितको सनराइज केन्द्रमा सभा हल, मिनि हल, पार्किङ र फरकफरक ठाउँमा गेटको व्यवस्था गरिएको छ । आजबाट तीनदिनसम्म सनराइज सम्मेलन केन्द्रमा एमालेको विधान महाधिवेशन चल्नेछ ।