ज्येष्ठ नागरिकको जिविकोपार्जनमा वृद्ध भत्ताको भर

सप्तरी । सप्तरी महुवाकी ६१ वर्षिया रेणुदेवी मिश्रलाई वृद्धा भत्ताको भर छ । ४ छोरी र २ छोराकी आमा रेणु एकल भएको ७ वर्ष भयो । श्रीमान बितेदेखि उनको हातमा पैसा दिने कोही छैन ।

उनको चारवटै छोरीको विवाह भइसकेको छ । उनीहरू पनि शिक्षित नभएर श्रीमानको भर पर्नु परेको छ । एउटा छोरा विवाहिता भएकोले बुहारी र नातिलाई पाल्दै ठिक्क छ ।

पैसा आउने कुनै बाटो छैन । एकल महिलालाई दिँदै आएको भत्तामा भर पर्नु परेको उनी बताउँछिन् ।

उनले भनिन्, ‘चामल किन्ने बाहेक हरेक किनमेल यही पैसा बाट गर्छु । औषधि, मन लागेको खानेकुरा, लुगा किन्ने, नातिनातिनाको खर्च पनि यतैबाट चलाइरहेकी छु ।’

उनी कहिले पैसा आउने, कति आउँने भन्दै कयौं पटक सोधिसकेको छिमेकी निलु झाले बताइन् । उनको आशा र भरोसा नै वृद्धा भत्ता भएको निलुको भनाइ छ ।

राजविराज –७ कि ७४ वर्षिया फुलेश्वरीदेवी यादव कृषक हुन् ।उनको खेतीयोग्य जग्गा १० कठ्ठा भए पनि तीन छोराले भाग लगाएर बाँडे । उनको पतिको मृत्यु भएको ६ वर्ष भयो । उनलाई तीनै जना छोराले पालैपालो चार चार महिना बस्न भने । उनी त्यसै गर्न लागिन् । उनलाई सबै छोराले गाई भैंसी चराउने, घाँस काट्न लगाउन थाले । उनलाई काम गर्न नसक्दा दुईछाक पेट भर्न काम गर्नै पर्ने बाध्यता थियो ।

उनले दुई वर्ष साह्रै दुःख गरिन् । उनी ७० वर्ष पुगेपछि मासिक तीन हजारको दरले चार महिनामा १२ हजार रूपैयाँ पाउन थालिन् । उनले भनिन्, ‘वृद्धा भत्ता पाउन थालेपछि मात्र जन्मदेखिको सबैभन्दा बढी सुख पाए ।’

सम्झना भएदेखि माइतीमा, बिवाह भएपछि घरमा, घरको काममात्र नभएर मजदुरी गर्नु पर्थ्यो । मजदुरी गर्दा पनि उनले पैसा नपाएर धान पाउँथिन् ।
उनले थपिन्, ‘आफ्नो हातमा पैसा आएको र आफ्नो इच्छाले खर्च गरेको थाहा छैन । वृद्धा भत्ता आउने वित्तिकै खाद्यान्न, औषधि आफै किन्छु । कुनै छोराछोरीको भर छैन ।’ एउटामात्र भर वृद्धा भत्ताको छ । वृद्धाभत्ताबाट आफ्नो जिविकोपार्जन आनन्दले चलाएर बसेको उनको भनाइ छ ।

राजविराज नगरपालिका–२ कि ७० वर्षिया सावित्री देवी चौधरीले भनिन्, ‘वृद्धा भत्ताले ज्येष्ठ नागरिकलाई परिवारबाट इज्जत र सम्मान दिलाएको छ ।उनीहरूको हरेक इच्छा, आकांक्षा पूरा गर्न सहयोग गरेको छ ।‘ जीवनको आनन्द लिएर सुखले बाच्न सिकाएको चौधरीको भनाइ छ ।

ज्येष्ठ नागरिक संघ सप्तरीका सचिव बैद्यनाथ झा भन्छन्, ‘वृद्धाभत्ताले ज्येष्ठ नागरिकको हिम्मत बढेको छ । बाँच्ने आश पलाएको छ ।’

विपन्न ज्येष्ठ नागरिकले पनि वृद्धा भत्ताबाट आएको रकम हरेक समस्या टारेर सुखको जीवन बिताउँदै छन् । परिवारबाट उनीहरूमाथि हुने हिंसा पनि घटेको धारणा सचिव झाको छ ।

उनी थप्छन्, ‘सम्पन्न परिवारका ज्येष्ठ नागरिकले पनि औषधि उपचार र व्यक्तिगत खर्चका लागि कसैसँग हात फैलाउनु पर्ने बाध्यता छैन ।’

२०६८र०७९ को बजेट भाषणमा सरकारले ज्येष्ठ नागरिकको लागि मासिक ४ हजार दिने घोषणापछि ज्येष्ठ नागरिक अझै हर्षित भएको नागरिक समाजका अध्यक्ष थानसिंह भंसाली बताउँछन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.