एमाले विदेशी नीति : अमेरिका, रुस र चीनदेखि भारतसँगको सिमा विवादसम्म

काठमाडौं । प्रमुख प्रतिपक्षी  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व शक्ति सन्तुलन युरोप-अमेरिकाबाट एसियामा सरेको बताएका छन् । शुक्रबारबाट तीन दिनसम्म सञ्चालन हुने एमाले विधान महासभामा राजनीतिक प्रस्ताव पेस गर्दै अध्यक्ष ओलीले अहस्तक्षेप र मैत्रीपूर्ण सम्बन्ध नेपाली विदेश नीतिको सार हुनुपर्ने बताएका हुन् । 

चीन-भारतबीच सीमा समस्यालाई लिएर तनाव बढेको र यी दुई छिमेकी मुलुकको सम्बन्धको प्रभाव दक्षिण एसिया र समग्र विश्वमै परेको निष्कर्ष ओलीद्वारा प्रस्तुत गरिएको राजनीतिक प्रस्तावमा उल्लेख गरिएको छ । ‘चीनको उदय, शक्तिशाली राष्ट्रको रुपमा रुसको पुनरागमन, ब्रिक्स र सांघाई सहकार्य संगठनलगायत क्षेत्रीय शक्ति र संगठनहरुको भूमिकाले चुनौती बढाएको छ,’ विधान महासभामा अध्यक्ष ओलीद्वारा पेस गरिएको राजनीतिक प्रस्तावमा भनिएको छ,‘ विश्व बहुधुव्रीय बन्दै गएको छ ।’

चीनसँगको सम्बन्धलगायत प्रश्नमा युुरोपले पछिल्लो समय स्वतन्त्र दृष्टिकोण राख्न थालेको बताउँदै ओलीले एमालेले विश्व प्रतिस्पर्धाको केन्द्र एसिया-प्रशान्त क्षेत्र बन्न थालेको बताएका छन् । सो क्रममा उनले चीन र भारतबीचको सीमा समस्यालगायत मतभिन्नता चाँडै समाधान हुनुपर्ने बताउँदै एमालेले दुई छिमेकी देशबीच सार्थक साझेदारी विकासको अपेक्षा व्यक्त गरेका छन् । ‘यसले विकास र सहयोगको त्रिदेशीय सहकार्यको सम्भावना पनि बढ्नेछ,’ एमाले अध्यक्ष ओलीद्वारा पेस गरिएको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘अमेरिकाले अगाडि सारेको इन्डो-प्यासिफिक स्ट्राटेजी यसै विषयतिर लक्षित छ’ अध्यक्ष ओलीले भनेका छन्, ‘हालै अष्ट्रेलिया, बेलायत र अमेरिकाबीच भएको नयाँ सुरक्षा सम्झौता (ओकस) ले यस क्षेत्रमा तनाव सिर्जना गरेको छ ।’

अफगानिस्तान घटनाका बाछिटा नेपालमा पर्न सक्ने र अफगानिस्तानलाई लिएर भूराजनीतिक तनाव सिर्जना हुन सक्ने आंकलन गर्दै प्रतिवेदनमा नेपालले स्पष्टरुपमा अहस्तक्षेप, लोकतन्त्र, खुल्लापन र क्षेत्रीय शान्तिका पक्षमा ढृढतापूर्वक उभिनुपर्ने ओलीद्वारा पेस गरिएको राजनीतिक प्रस्तावमा उल्लेख छ ।

विधान महासभामा राजनीतिक प्रस्ताव पेस गर्ने क्रममा ओलीले म्यानमारको शान्तिपूर्ण प्रदर्शनमा हिंसात्मक दमन भएकोमा विरोध जनाएका छन् । सो क्रममा ओलीले नेपालले आफ्नो भूभाग कुनै पनि छिमेकी मित्रराष्ट्रविरुद्ध उपयोग हुन नदिने प्रतिबद्धता जनाए । उनले भने, ‘नेपाल एक चीन नीतिमा अडिग छ ।’

त्यसैगरी, ओलीद्वारा पेस गरिएको राजनीति प्रस्तावमा नेपाल-भारत सीमा विवाद पनि समेटिएको छ । भारतसँगको सीमा समस्या र आफ्नो सरकार हुँदा चुच्चे नक्सामा सामेल गरिएका लिपुलेक, कालापानी र लिम्पियाधुराबारे पनि उल्लेख छ । 

‘भारतसँगको व्यापार घाटा, लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता क्षेत्रमा नेपाली भूभाग फिर्ता, सीमाको व्यवस्थापन, आन्तरिक मामलामा हुने अनावश्यक चासो र हस्तक्षेपजस्ता विषयमा नेपालको चासो र सरोकार छ,’ ओलीद्वारा पेस गरिएको राजनीतिक प्रतिवेदनमा भनिएको छ । 

यसका अलावा ओलीले छिमेकी मुलुकको विषय पनि समेटिएको छ। ‘नेपाल र भारतबीच समस्यालाई कूटनीतिक पहलको माध्यमबाट समाधान गर्नुपर्छ । एमालेले छिमेकीका जायज चासो र सरोकारप्रति सजग छ । ‘यस्तै सजगता र सम्मान हामी मित्रराष्ट्रहरु, विशेषतः छिमेकीबाट चाहन्छौंँ,’ ओलीद्वारा पेस गरिएको राजनीतिक प्रस्तावमा भनिएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.