धनुषाका सीमा नाका पूर्ण रूपमा खुला

जनकपुरधाम । सम्बन्धित स्थानीय तहहरूलाई कुनै जानकारी नै नगराई धनुषास्थित नेपाल–भारत सीमाका नाकाहरू पूर्ण रूपमा खुला गरिएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र धनुषाको शुक्रबार बसेको बैठकले सीमा नाकाहरू खुला गर्ने निर्णय गरेको छ । बैठकले सीमावर्ती क्षेत्रका स्थानीय तहलाई हेल्थ डेस्क संचालन गर्न भनेको छ ।

तर, सम्बन्धित स्थानीय तहलाई यसबारेमा कुनै जानकारी गराइएको छैन, न स्थानीय तहका प्रतिनिधिलाई बैठकमै बोलाइएको छ । ‘जिल्लाका नाका पूर्ण रूपमा खुला गरिएको छ,’ धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालले भने, ‘भारतीय नागरिकले ७२ घण्टाभित्र कोभिड–१९ को नेगेटिभ रिपोर्ट साथमा लिएर आएपछि मात्र नेपाल प्रवेश गर्न अनुमति दिइनेछ ।’

नेपाल प्रवेश गर्ने व्यक्तिमा कोभिड–१९ को लक्षण देखिएमा तत्कालै उसको एन्टिजेन परीक्षण गरिने र रिपोर्ट नेगेटिभ आएपछि मात्र प्रवेश गर्न दिने व्यवस्था गरिएको उनले बताए । तर, नाकाहरूमा कसले भारतीय नागरिकहरूको एन्टिजेन परीक्षण गर्ने भने विषयमा कुनै निर्णय गरिएको छैन ।

सीमावर्ती क्षेत्रका स्थानीय तहलाई हेल्थ डेस्क संचालन गर्न भनिएको छ । तर, यी स्थानीय तहहरूले आफुहरुले हेल्थ डेस्क संचालन गर्ने अवस्थामा नरहेको जनाएका छन् ।

धनुषाको नगराइन नगरपालिकाका मेयर परमेश्वर यादवले भने, ‘नाका खोल्ने विषयमा हामीसँग कुनै समन्वय भएको छैन । न त अहिले हामी हेल्थ डेस्क चलाउने अवस्थामा नै छौँ ।’

कोभिड संक्रमणको लक्ष्ण देखिएकाहरूलाई स्थानीय तहले छुट्टै आइसोलेसनको व्यवस्था गरेको अवस्थामा हेल्थ डेस्क चलाउन जनशक्ति नै नरहेको मेयर यादवले बताए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.