राजविराज। पुष महिनाको शुरुआतसँगै मधेसमा हुस्सु र कुहिरो लाग्न थालेको छ। हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो बढेकाले वृद्ध र बालबालिकालाई सबैभन्दा बढी प्रभावित गरेको छ। यसबाट बच्न र सतर्कता अपनाउन विकल्पको रुपमा तराईतिर घुरको प्रयोग गरिन्छ।
देशका पुर्वी र मध्य तराईका धेरै स्थानहरु तथा पश्चिम तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको मौसम पुर्वअनुमान महाशाखाले जनाएको छ। अगामी २४ घण्टा मध्याह्नसम्ममा हुस्सु र कुहिरो क्रमिक रुपमा सुधार हुँदै जाने बताइएको छ। चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउन समेत विभागले अनुरोध गरेको छ।
हुस्सु लाग्न थालेपछि चिसो बढ्ने भएकाले,यसले तराई मधेसको जनजीवनमा प्रभाव पार्ने निश्चित हुन्छ।यसबाट बच्न मधेसका गाउँ शहरमा घुरको आगो ताप्ने गर्छन् । मौसम बदलिएको परिवेशमा तराईतिर घुरको प्रयोग पनि ह्वात्तै बढ्न थालेको हो।
पुर्वी तराईका सिरहा,सप्तरी,सुनसरी,मोरङ र झापामा हुस्सु लागेको महाशाखाले जनाएको छ।यसैगरी मध्य तराईको चितवन,पर्सा,बारा,रौतहट,सर्लाही,महोत्तरी र धनुषामा हुस्सु लाग्न थाल्को छ।
त्यसैगरी पश्चिम कञ्चनपुर,कैलाली,बर्दिया,बाँके,दाङ,कपिलवस्तु,रूपन्देही, नवलपरासी पुर्व र नवलपरासी पश्चिममा हुस्सु लागेको महाशाखाले जनाएको छ।