काठमाडौं । एमाले विधान माहधिवेशनमा प्रतिनिधिहरुले व्यक्ति नभई पार्टी र पार्टीको नीतिलाई स्थापित गर्न सुझाव दिएका छन् ।
शुक्रबारदेखि ललितपुरको गोदाबरीमा जारी विधान महाधिवेशनमा समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा समूह नेतृत्वले यस्तो सुझाव दिएका हुन् ।
प्रदेश १
प्रदेश १ का टोली नेता भानुभक्त ढकालले पार्टी एकतामा विलम्ब भएको र कामरडेली भावनाबाट च्यूत हुँदै गएको बताउँदै व्यक्ति नभई पार्टी र नीति स्थापित गर्नु सुझाव दिए । ढकालले पनि वरिष्ठसहित ६ उपाध्यक्ष हुनुपर्ने र एक उपमहासचिव राख्नुपर्ने समूहको निष्कर्ष प्रस्तुत गरेका छन् ।
बागमती प्रदेश
बाग्मती प्रदेशका टोली नेता आनन्द पोखरेलले ब्राण्डिङ व्यक्तिलाई गर्ने कि नगर्ने भन्नेमा मत बाझिएको बताउँदै सरकार र पार्टीको सम्बन्ध प्रष्ट पार्नुपर्ने र नजिक हुनेहरुले मात्र अवसर नपाई विधिका आधारमा पाउनुपर्ने बताए । सो क्रममा लुम्बिनी प्रदेशका टोली नेता लीला गिरीले पार्टीमा वरिष्ठसहित सात उपाध्यक्षको व्यवस्था कायम गर्न सुझाव दिए ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशको टोलीले पार्टीलाई निर्वाचन प्रणालीमा सुधार र सरकार र पार्टीबीच अन्तरसम्बन्धबारे स्पष्ट हुन सुझाव दिँदै प्रदेश कमिटीमा बढीमा १५१ सदस्यीय बनाउन र विभागमा २१ जना राख्न व्यवस्था गर्न सुझाव दिएको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशबाट समूहगत छलफलको रिपोर्ट प्रस्तुत गर्ने क्रममा गोरख बोगटीले प्रत्येक जिल्लाबाट एक केन्द्रीय सदस्य हुने व्यवस्था मिलाउन सुझाव दिएका छन् । उनको समूहबाट पनि ७० वर्षे वा दुईवर्षे कार्यकाल व्यवस्था राख्न सुझाव दिँदै बोगटीको समूहले संघीय मन्त्रिपरिषद्मा ५० प्रतिशत विज्ञ र ५० प्रतिशत जनप्रतिनिधि नियुक्त गर्न सुझाव दिएका छन् ।
यसका अलावा प्रतिनिधिहरुले एमसिसीबारे पार्टीको स्पष्ट धारणा आउनुपर्ने बताएका छन् ।
समूहगत छलफलमा नेताहरुले उपाध्यक्षको संख्या अझ बढाउनुपर्ने, उपहासचिव पद कायमै राख्नुपर्ने मत राखेका छन् । हाल विधान संशोधन प्रस्तावमा पाँच उपाध्यक्ष प्रस्ताव गरिएको छ भने उपमहासचिव पद खारेज गर्ने प्रस्ताव छ ।