काठमाडौं । गैरआवासीय नेपाली संघको चुनावमा यस पटक प्रत्यक्ष रुपमै दलिय हस्तक्षेप भएको छ । नेपाली कांग्रेसले निर्णय नै गरेर कांग्रेसका उम्मेद्वारहरुलाई जिताउन भन्दै ८ जना नेता परिचालन गरेको छ ।
महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ८ जना नेताहरु खटिएका छन् । उनीहरुले एनआरएनएको दशौं महाधिवेशनमा लोकतन्त्रवादी समूहलाई विजयी गराउन लागि पर्ने र भोट माग्ने काम गर्ने कांग्रेसले उल्लेख गरेको छ ।
यस अघिका निर्वाचनहरुमा राजनीतिक दलले अघोषित रुपमा अप्रत्यक्ष समर्थन गर्ने काम हुन्थ्यो । यो पटक नेपाली कांग्रेसले प्रत्यक्ष रुपमै हस्तक्षेप गरेको हो । कांग्रेसले विदेशमा रहेका जनसम्पर्क समितिहरूलाई सर्कुलर पठाउँदै कुल आचार्यको नेतृत्वमा प्यानल खडा भएको उल्लेख गरेको छ । जनसम्पर्क समिति कांग्रेसको प्रवास शाखा हो । सबै शाखालाई निर्देशन पठाउँदै कांग्रसेका उम्मेद्वारलाई अनिवार्य जिताउन कांग्रेसले अनुरोध गरेको छ ।
यूरोप क्षेत्रमा प्रकाशशरण महत र गगनकुमार थापा, एशिया क्षेत्रमा डा। मिनेन्द्र रिजाल, अफ्रिका, मध्यपूर्व हेर्न गोविन्द भट्टराई र प्रवक्ता विश्वप्रकाश शर्मालाई परिचालन गरिएको छ । ओसियाना क्षेत्रमा समन्वय गर्ने जिम्मेवारी सुरेन्द्रराज पाण्डेले पाएको छ ।