काठमाडौँ — देशभरका त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धन प्राप्त अधिकांश क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरू भएको छ । विद्यार्थीको तालाबन्दी र विभिन्न समस्याका कारण भएका केही क्याम्पसहरूमा भने निर्वाचन नहुने भएको छ । आइतबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म स्ववियु निर्वाचनका लागि समय तोकिएको छ ।
काठमाडौंका २२ आंगिक क्याम्पसहरूमध्ये ७ वटामा भने आइतबार निर्वाचन नहुने भएको छ । काठमाडौंकाे अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर, पाटन बाहेक अरुमा मतदान सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति सदस्य सचिव पशुपति अधिकारीले बताए । उनका अनुसार काठमाडौं बाहिर भने अधिकांश स्थानमा स्ववियु निर्वाचन सुरु भएको छ ।
प्रत्येक क्याम्पसमा कम्तीमा ११ देखि २१ सदस्यीय स्ववियु कार्यसमिति रहनेछ । दुई सयसम्म विद्यार्थी भएमा ११, एक हजार विद्यार्थी रहे १५ र तीन हजारसम्म विद्यार्थी भएका क्याम्पसमा १९ र त्योभन्दा बढी विद्यार्थी अध्ययनरत क्याम्पसले २१ सदस्यीय स्ववियु चयन गर्नुपर्नेछ । अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिवसहित ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित गर्ने व्यवस्था छ ।