भौतिक पूर्वाधार विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो तीन आर्थिक वर्ष २०७५/०७६,२०७६/०७७ र २०७७/०७८ मा गरी प्रदेश सरकारले विभिन्न ३२ वटा पुल निर्माण गरेको छ भने ८९ वटा कल्भर्ट निर्माण गरेको छ । त्यसैगरी, प्रदेशका आठवटै जिल्लामा १७ किलोमिटर नाला निर्माण, दुई सय किलो मिटर कच्ची सडक निर्माण र तीनवटा झाेलुंगे पुल निर्माण गरेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका दीपककुमार दासले विकास निर्माणको काममा गति बढी रहेको बताए । उनले भने, ‘सुरुमा ऐन कानुनको अभावमा विकास निर्माणको गति सुस्त थियो । तर, चालु आर्थिक वर्षदेखि विकास निर्माणको गतिमा व्यापक सुधार आउँछ ।’
मुलुक संघीय संरचनामा गएपछि प्रदेश सरकार थपिएको छ । प्रदेश नयाँ संरचना भएको, ऐन कानुन, कर्मचारीको अभाव साथै अनुभवको अभावमा पनि जनअपेक्षाअनुसार सरकारले काम गर्न स्वाभाविक रहेको जनता समाजवादी पार्टीका सासद अब्दुल कलाम अजादले बताए । उनले भने,‘ सुरुवाती अवस्थामा कर्मचारी, कानुन लागतयका अभावले सरकारले चाहेर पनि कामलाई अगाडि बढाउन सकेनन् । तर, अब विस्तारै विकास निर्माणको कामले गति लिँदै गएको छ ।’
'सुरुवाती दुई आर्थिक वर्षको बजेट खर्च ५० प्रतिशत पनि हुन सकेनन्', उनले भने, ‘आर्थिक वर्ष २०७७/७८ मा त विगत दुई वर्षभन्दा बढी बजेटको रकम त खर्च भयो । बजेट खर्च बढेपछि विकास निर्माणको पनि बढ्ने हो । चालु आर्थिक वर्षमा त्योभन्दा बढी काम देखिन्छ ।’
उनले आवश्यकताअनुसारको कर्मचारी व्यवस्थापन भएको खण्डमा प्रदेश सरकारको विकास निर्माण निर्माणको अवस्थामा व्यापक सुधार आउने दाबी गरे ।
