आन्दोलनमा उत्रिए बाल विकास शिक्षक

सप्तरी । बाल विकास शिक्षक तथा कर्मचारीले राजविराज नगरपालिका कार्यालयमा ४ घण्टा धर्ना दिएका छन् ।

सरकारले घोषणा गरेअनुसारको तलब नदिएको भन्दै नगरपालिकाको कार्यालय अगाडि पूर्वनिर्धारित कार्यक्रमअनुसार उनीले आइतबारदेखि दोस्रो चरणको आन्दोलन शुरू गरेका हुन् ।

सप्तरीका राजविराज नगरपालिकाअन्तर्गत ४२ वटै विद्यालयमा कार्यरत रहेका बाल विकासका शिक्षकहरु, प्राविधिक ग्रेडबाट छुट भएका कार्यरत तथा अवकाश प्राप्त शिक्षकहरु, कार्यालय सहयोगीले धर्ना दिएका हुन् । सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमा बाल विकास शिक्षकका लागि तोकेको मासिक १५ हजार तलब पाउनुपर्ने माग राखी ११-१३ असोजसम्म तीन दिन पहिलो चरणमा धर्ना बसेका थिए । माग पूरा नभएपछि दोस्रो चरणको आन्दोलन शुरू गरेको आन्दोलनमा सहभागी शिक्षक संघ राजविराजका अध्यक्ष विभा झाले बताइन् ।

सरकारले सार्वजनिक गरेअनुसार तलब दिन आग्रह गर्दा स्थानीय सरकार नमानेपछि चरणबद्ध आन्दोलन गर्न बाध्य भएको अध्यक्ष झाको भनाइ छ । उनले भनिन् ,'स्थानीय सरकारले तोकेअनुसार तलब उपलब्ध नगराएसम्म आन्दोलन जारी रहने छ ।'

केन्द्र सरकारले ८ हजार र स्थानीय सरकारले ७ हजार गरि मासिक १५ हजार दिनुपर्ने व्यवस्था गरे पनि स्थानीय तहले ७ हजार तलब थपेर दिन आनाकानी गर्दै आएकाले धर्नामा बसेको आन्दोलन संघर्ष समितिले जनाएको छ ।

सरकारले तोकेअनुसारको तलब नदिए तथा नगरपालिकाबाट कुनै प्रतिक्रिया नआएसम्म आन्दोलन जारी राख्ने आन्दोलनरत शिक्षकको भनाइ छ ।

यस सम्बन्धमा राजविराज नगरपालिकाका मेयर शम्भु यादवले नगरपालिकाले एक्लैले गरेर नहुने बताए । उनले भने, 'कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको छु ।जिल्लाको १८ वटा नगरपालिकाको मेयर र गाउँपालिका अध्यक्षसँग छलफल हुँदैछ । सबैले एकैपटक कार्यान्वयन गर्ने कुरा भइरहेको छ ।'

यता तिलाठी कोइलाडी गाउँपालिकाकाले आव २०७८/०७९ को बजेट भाषणमा बाल विकास सहयोगी कार्यकर्ता र कर्मचारीलाई तलब बापत दिने रू १५ हजार साउनदेखि लागू हुनेगरी दिने भएको छ ।

सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई चौमासिक तलब माग गर्दा माग फारममा १५ हजार माग गर्न निर्देशन दिइसकेको गाउँपालिका शिक्षा शाखा संयोजक राजेश झाले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.