काठमडौं । नेपालमा विभिन्न् स्रोतबाट आर्जन गरेको गैरकानुनी सम्पित विदेशमा लगानी गरी वैदेशिक लगानीको नाममा पुनः भित्र्याउने धन्धामा विश्वका ठूला व्यापारिक घरानाले कसरी वैद्य बनाउँछन् भन्ने कुरा खुलासा भएको छ ।
खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘इन्टरनेशल कन्सोर्टियम अफ् इन्भेष्टिगेटिभ जर्नलिष्ट’ (आइसिआइजे)सहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा यस्तो खुलासा गरेको हो । सो खुलासालाई ‘प्यान्डोरा पेपर्स’ नाम दिइएको छ।
आइसिआइजेले गरेको खुलासामा ९० देशका ३३० जनाभन्दा धेरै राजनीतिकर्मी, विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, व्यवसायी, सरकारी अधिकारी, सेलेब्रेटी र अपराधमा संलग्नहरूले समेत अफशोर खाता र शेल कम्पनी मार्फत् अवैध रकम लुकाएको र छायाँ अर्थतन्त्र चलाइरहेको पाइएको छ।
विश्वका प्रभावशाली नेता, राजनीतिकर्मी, व्यवसायी र शक्तिशाली व्यक्तिले अवैध तरिकाले कमाएको धन वैध बनाउन कसरी ‘ट्याक्स हेभन’ (सम्पत्तिको स्रोत नखोजिने र जवाफदेही हुनुनपर्ने) देशमा पुर्याएर एउटा समानान्तर अर्थतन्त्र चलाइरहेका छन् भन्ने खुलासा खोजले गरेको छ।
उक्त संयन्त्रमा ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’ पनि संलग्न छ।
अवैध आर्जनलाई वैध बनाउन विदेशी (अफशोर) खातामा रकम जम्मा गर्ने र शेल कम्पनीमार्फत कारोबार गरिएको खोजले देखाएको छ। अवैध तरिकाले आर्जित रकम लुकाउने, देशलाई कर नतिर्ने र त्यही रकम वैदेशिक लगानीका नाममा फेरी स्वदेश भित्र्याउने उद्धेश्यले त्यसरी विदेशी बैंकमा धन पुर्याउने गरिएको छ।
आइसीआइजेले नेपालले प्यान्डोरा पेपर्सले खुलासा गरेको अफशोर खाता र शेल कम्पनीमा १६ जना नेपाली पनि संलग्न रहेको खुलासा गरको छ । जसमा चौधरी ग्रुप र गोल्छा अर्गनाइजेसन छन् ।
खोजले प्रतिनिधिसभा सदस्य विनोद चौधरी र उनको परिवारका सदस्यको नाममा ट्याक्स हेभन (कर प्रणाली पारदर्शी नहुने र जवाफदेही पनि नखोजिने) मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोली विभिन्न देशमा कारोबार गरेको पाइएको खोपकेले प्रकाशन गरेको छ। चौधरी नेपालका एक अर्बपति संसद हुन् ।
यस्तै अफसोर कम्पनी खोलेर कारोबार गर्नेमा नेपालको अर्को ठूलो व्यापारिक घराना गोल्छा अर्गनाइजेसन पनि छ। गोल्छा अर्गनाइजेशन सम्बद्ध लोकमान्य गोल्छा, उनका दिवंगत भइसकेका दुई भाइ, उनीहरूका काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाको नाममा ब्रिटिश भर्जिन आइल्याण्डमै कम्पनी छ।
त्यसैगरी खोपके नेपालकै यसअघिको खुलासा नेपालिक्समा उल्लेख भएका नेपाली नागरिकहरू अजेयराज सुमार्गी, अर्जुनप्रसाद शर्मा र किशोर रानाको लगानीमा थप विदेशी कम्पनीहरू पनि सञ्चालनमा रहेको तथ्य फेला परेको छ।
यसबाहेक ललितपुर पुल्चोक ठेगाना भएका राजेन्द्र शाक्य र अन्य नेपाली व्यवसायीहरू– सुहृदराज घिमिरे, पुरुषोत्तम पौड्याल, काठमाडौं ज्ञानेश्वरका सुधीर मित्तल, नेपालमा व्यवसाय गर्ने भारतीय नागरिक राधेश्याम सराफको लगानीमा पनि ट्याक्स हेभन मुलुकमा कम्पनी सञ्चालनमा रहेको देखिएको छ।
गैरआवासीय नेपालीले कुनै पनि नाममा नेपालबाट पैसा लगेर विदेशमा लगानी गर्न पाइन्न । आयकर ऐन–२०५८ ले ‘अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सोभन्दा बढी नेपालमा रहेको व्यक्ति’ लाई ‘बासिन्दा व्यक्ति’ सम्झनुपर्छ भनी व्यवस्था गरेको छ।