अछाम । अछाममा चाडपर्वलाई लक्षित गरी बजार अनुगमन थालिएको छ । दशैं, तिहारलगायत चाडको बेला हुन सक्ने कालोबजारी, मूल्य वृद्धि लगायत कुरालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय अछामले अनुगमन थालिएको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी रञ्जनप्रसाद तिमिल्सैनाको नेतृत्वको टोलीले आइतबार सदरमुकाम मङ्गलसेन बजारमा अनुगमन गरेको छ ।
जिल्ला सदरमुकामको मुख्य व्यापारिक केन्द्र रहेको मङ्गलसेनमा बजारमा रहेका खाद्यान्न पसलमा अनुगमन गरिएको छ ।
दशैं तिहार नजिकिएसँगै बजारमा अखाद्य बस्तुको बेचबिखन हुनसक्ने, महँगी हुन सक्ने कुरालाई मध्यनजर गर्दै अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रञ्जनप्रसाद तिमिल्सैनाले बताए । बजारका विभिन्न पसलको अनुगमन गर्दा तीन पसलहरूमा म्याद सकिएका सामाग्री फेला परेका छन् ।
उक्त सामाग्रीहरू नष्ट गरिएको छ । म्याद गुज्रिएका र नियम विपरीत सामान बिक्री गरेको भन्दै एक व्यापारीलाई पाँच हजार जरिवाना तिराइएको छ । पछिल्लो समय दैनिक उपभोग्य वस्तुको मूल्य निकै बढेको उपभोक्ताको गुनासो रहेको छ ।