काठमाडौं । उच्च अदालत जनकपुरले जनकपुरको रामानन्द चोकमा बम विस्फोटमा संलग्न सञ्जय साह ‘टक्ला’को सजाय अविध घटाएको छ ।
न्यायाधीशहरु धीरबहादुर चन्द र रमेश ढकालको इजलासले ज्यान मार्ने कसुरको हकमा सजाय १२ वर्षबाट घटाएर सात वर्ष बनाएको हो । आइतबार राति अबेर मुद्दाको फैसला गर्दै राय तयार भएकाले त्यसको विस्तृत विवरण तयार भएको छैन ।
जिल्ला अदालत धनुषाले २०७५ साल चैत १४ गते साहसहितका आरोपितहरु घटनामा संलग्न रहेको ठहरसहित जन्मकैदको फैसला गरेको थियो । जिल्ला अदालतले घटनामा संलग्न रहेको ठहर सहित जय प्रकाश चौधरी, सुरेश कुमार कर्ण, मुकेश कुमार कर्ण र रिपेन्द्र झालाई १२ वर्ष कैद सजाय सुनाएको थियो, जुन उच्च अदालतबाट पनि सदर भयो ।
२०६८ साल बैशाख १८ गते जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोटमा ५ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए । संविधान निर्माणका क्रममा मिथिला राज्यका लागि दबब दिन मिथिला राज्य संघर्ष समितिले धर्ना कार्यक्रम गरेको ठाउँमा विस्फोट भएको थियो ।
उक्त घटनाको जनतान्त्रिक तराई मुक्ति मोर्चाका राजन मुक्ति समूहले जिम्मा लिएको भनिए पनि पछि सञ्जय साह लगायतले घटनाको योजना बनाएको खुलेको थियो ।