मनाङको सडक तीन महिनापछि सञ्चालनमा

लमजुङ । बाढीपहिरोले अवरुद्ध सडक तीन महिनापछि सञ्चालनमा आएको छ । चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालका जोड्ने भ्राताङ भिरको सडक मर्मत पश्चात् आइतबारदेखि सञ्चालनमा आएको हो । भ्राताङ भीरको सडक मर्मत भएपछि मनाङको भ्राताङदेखि खाङसारसम्मको सडक सञ्चालन आएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

बेंशीसहर–चामे सडकखण्डको मनाङकै तलेखुदेखि भ्राताङबीचको सडकखण्ड मर्मत भइरहेकाले केही समयमा खुल्ने प्रजिअ लामिछानेले बताए ।

उनका अनुसार बाढीपहिरोले अवरुद्ध बेंशीसहर–चामे सडकखण्ड मंगलबारसम्म सञ्चालनमा आउनेछ ।

असारमा परेको अविरल वर्षाका कारण भ्राताङ भिरमा बाटो अवरुद्ध हुँदा मनाङबासी तीन महिनादेखि सडकसम्पर्कबाट विच्छेद भएको थियो ।

सडक मर्मत गर्न ९२ लाख बढी खर्च भएको ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जानकारी दिए । बाढीपहिरोले सडक तथा पुलमा क्षति पुर्‍याएपछि लामो समयसम्म मनाङ बाहिरी जिल्लासँग सडक सम्पर्क विच्छेद हुन पुगेको थियो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.