भक्तपुरका स्कुलमा अब मतदानमार्फत क्याप्टने चुनिने

भक्तपुर। भक्तपुरको एउटा स्कुलमा शुक्रबार चुनावको झल्को दिने मिनी चुनाव भएको छ । एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरमा चुनावको झल्को दिने गरी मिनी चुनाव भएको हो । जसअनुसार स्कुलका छात्र छात्राहरुले मतदान प्रक्रियाबाट आफना नेता आफै मत दिएर छानेका हुन् । 

स्कुलमा कक्षा ६ देखि १० सम्मका ६ सय भन्दा वढी विद्यार्थी मतदानमा सहभागी भएका थिए । उनीहरुले विहान १० बजेदेखि दिउँंसो दुईबजेसम्मको समयभित्र मतदान गरेका थिए । लाइन बसेर उनीहरुले स्कुल परिसरभित्रै रहेको एउटा मतदान केन्द्रको तीन वटा बुथमा मतदान गरेका थिए । मतदान सकेपछि दिउँसोबाटै मतगणणा सुरु गरिएको थियो । मत गणणापछि एक जना क्याप्टेन र अर्काे सहायक क्याप्टेन गरेर दुई जना विद्यार्थी विजयी बनेका छन् ।

मतदान अघि उम्मेदवारहरुको मनोनयन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन, मतदाता नामावली सार्वजनिक, प्रचारप्रसार गराइएको थियो । उम्मेदबार विद्यार्थीलाई त्यसका लागि कक्षाकोठा तथा दैनिक विहानको एसेम्वलीमा ठाउँं दिइएको थियो । त्यसअनुसार निर्वाचन चिह्न पनि प्रदान गरिएको थियो । यही नियमित प्रक्रिया अनुसार गोप्य मतदान गराइएको थियो ।

स्कुलमा भएको यो पहिलो निर्वाचन भएको स्कुलले जनाएको छ । अवका दिनमा वर्षैपिच्छे यसरी नै मतदान गराई स्कुलको विद्यार्थी नेतृत्व छनौट गर्ने योजना रहेको स्कुलले जनाएको छ । स्कुलका अनुसार कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुमध्ये प्रत्येक वर्षको जेठमा एकजना क्याप्टेन र अर्काै सव क्याप्टेनका लागि निर्वाचन हुने छ । पालैपाले कुनै बेला छात्राहरुमध्येबाट क्याप्टेन र छात्रहरुमध्येबाट सव क्याप्टेन त कुनै वर्ष छात्रहरुमध्येबाट क्याप्टेन र छात्राहरुमध्येबाट सव क्याप्टेनका लागि चुनाव गर्ने योजना राखिएको छ । यो वर्ष क्याप्टेनका लागि कक्षा १० का पाँंचजना छात्रा र सव क्याप्टेनका लागि कक्षा १० कै चारजना विद्यार्थी प्रतिस्पर्धामा थिए । विद्यार्थीलाई निर्वाचन प्रणालीबारे अनुभव गराउन निर्वाचन गराइएको स्कुलले जनाएको छ ।

भक्तपुर नगरपालिका शिक्षा शाखाका प्रमुख कृष्णप्रसाद कर्माचार्यले भक्तपुर नगरभित्र झण्डै एक सय वटाको हाराहारीमा स्कुलहरु रहेको र ती स्कुलहरुमा फाटफुट रुपमा यसरी निर्वाचन गराई विद्यार्थी नेतृत्व छान्न लगाउने प्रक्रिया सुरु भएको जानकारी गराए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.