काठमाडौं । गृह मन्त्रालयाले परराष्ट्र मन्त्रालयलाई चीनसँग सीमा जोडिएको हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे पत्राचार गरेको छ ।
सीमाक्षेत्र सम्बन्धी अध्ययनका लागि गठित समितिले सरकारलाई चीन-नेपाल सीमाबारे प्रतिवेदनको सुझावसहित गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको हो । समिति भदौ २५ मा स्थलगत अध्ययनका लागि हुम्ला गएर असोज २मा फर्किसकेको छ ।
स्थलगत भ्रमणपश्चात् तयार पारिएको प्रतिवेदनमा सीमा क्षेत्रमा उब्जेका केही विषयमा द्विपक्षीय सहकार्य गरेर समाधान गर्न सुझाव दिएको छ ।
समितिमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीपकुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक कुशोरकुमार श्रेष्ठ सदस्य थिए ।
समितिले असोज १० गते गृहमन्त्री बालकृष्ण खाँणलाई अध्ययन प्रतिवेदन बुझाएको थियो ।