काठमाडौं । सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले मन्त्रीमा भाग खोजेको भन्ने समाचारमा सत्यता नभएको दाबी गरेका छन् ।
मन्त्रिपरिषदमा प्रधानन्यायाधीशले पनि भाग खोजेको भनी विभिन्न सञ्चारमाध्यममा समाचार आएसँगै अदालतले त्यसको खण्डन गरेको भोलिपल्ट सरकारका प्रवक्ता कार्कीले पनि समाचारमा सत्यता नभएको भनी खण्डन गरेका हुन् ।
‘मन्त्रिपरिषद विस्तारबारे प्रधानन्यायाधीशलाई जोडेर आएका समाचारमा कुनै सत्यता छैन,’ मन्त्रिमण्डलले कहिले पूर्णता पाउने भन्ने सञ्चारकर्मीको जिज्ञासालाई मेटाउने क्रममा कार्कीले भने,‘बिहान शीर्ष नेताबीच छलफल भएको छ । सकभर चाँडै मन्त्रिमण्डललाई पूर्णता दिन उहाँहरु सहमत नै हुनुहुन्छ ।’