काठमाडौं । नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणि पौड्याल पुष्प कमल दाहाल प्रचण्डको पार्टी नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । माओवादीको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) लाई प्रशिक्षण दिइरहेको भिडियो सार्वजनिक भएपछि उनी चर्चामा थिए ।
चर्चासँगै उनको आलोचना पनि शुरु भएको थियो । त्यसको केही दिन बित्न नपाउँदै मंगलवार पौड्यालले औपचारिक रुपमा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नेकपा माओवादी केन्द्रले मंगलबार गठन गरेको ३१ सदस्यीय विदेश मामिला विभागमा पौडेलको नाम छ ।
माओवादीले सुरेन्द्र कार्कीको अध्यक्षतामा गठन गरेको विदेश मामिला विभागमा उनको नाम समावेश भएको छ । विभागमा उनका साथै पूर्व राजदूत डा. महेश मास्केसहित विभिन्न देशका पूर्वराजदूतहरु सदस्य छन् ।
पूर्व मुख्य सचिव पौड्याललाई २०७६ फागुनमा केपी शर्मा ओली नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो । त्यसबेलादेखि नै प्रचण्ड ओलीसँग फायर भएका थिए । तत्कालिन नेकपाभित्र विवाद चुलिनुको एउटा कारण पौड्याल पनि हो ।