मन्त्री छान्न छलफल गर्दै पौडेल समूह, सिटौला समूहले आलोपालो गर्ने

काठमाडौं । गठबन्धनबीच मन्तालय भागबन्डा मिलेसँगै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूह छलफलमा जुटेको छ । बुधबार दिउँसो आफ्नो समूहबाट सरकारमा जाने मन्त्रीको नाम चयन गर्न पौडेल समूह छलफलमा जुटेको हो । 

मन्त्रालयको भागबण्डा मिलेसँगै बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । संस्थापन समूहबाट तीन मन्त्री र एक राज्यमन्त्री चयन भइसकेका छन् । बाँकी चार मन्त्रीमध्ये तीन मन्त्रालय संस्थापनइतर समूहले पाउनेछन् । त्यसमध्ये पौडेल समूहको भागमा दुईवटा मन्त्रालय परेका छन् । एउटा मन्त्रालय कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो समूहसँग राख्ने भएका छन् ।

दुई मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे छलफल गर्न बैठक बस्न लागेको महामन्त्री डा. शशांक कोइरालाको सचिवालयले जनाएको छ । पौडेल समूहमा मन्त्रीका लागि केन्द्रीय सदस्यहरु सुजाता कोइराला, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, तेजुलाल चौधरी र राजन केसीको नाम चर्चामा छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट उमाकान्त चौधरीको नाम सिफारिस भएको जनाइएको छ । सिटौला समूहले आफ्नो समूहबाट आलोपालो मन्त्री बनाउने भएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.