काठमाडौं । नेपाली कांग्रेसभित्र ‘तेस्रो धार’ का रुपमा चिनिने सिटौला नेतृत्व समूहको बैठकमा गगन थापा अनुपस्थित भएका छन्। सिटौला समूहको बैठकमा थापालाई बोलाइए पनि थापा बैठकमा नगएका हुन् ।
पूर्वमहामन्त्री सिटौलाले मन्त्रिपरिषद विस्तार र महाधिवेशनको सन्दर्भमा आफूनिकट नेताहरूसँग छलफल गर्न बैठक डाकेपनि थापा अनुपस्थित भएका हुन् । यसअघि नै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका बैठकमा नियमित सहभागी हुँदै आएका थापाले काठमाडौंको स्थानीय अधिवेशनमा पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग गठबन्धन गरेका थिए ।
काठमाडौं महानगरसहित अधिकांश पालिकामा सिंह-थापा गठबन्धनका उम्मेदवारले जितेका छन् । संस्थापन पक्षसँग सिटौला पक्षले काठमाडौंलगायत अधिकांश स्थानमा तालमेल गरेको छ ।
औपचारिकरूपमा सिटौला समूह छाडेको उद्घोष नगरेपनि थापा संस्थापनइतर समूह एक हुनुपर्ने पक्षमा उभिँदै आएका छन् ।