हेटौंडा । नेकपा एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) दर्ता भएपछि बागमती प्रदेश सरकालाई नैतिक दबाब परेको थियो । सो नैतिक दबाबका कारण बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले यहि २४ गते विश्वासको मत लिने भएकी छन् ।
असोज २४ गते आइतबार दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।
शाक्यले २५ गतेभित्र विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ । १ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन् । विश्वासका मतका लागि मुख्यमन्त्री शाक्यलाई ५५ सांसद आवश्यक रहन्छ ।
प्रदेश सरकारका प्रवक्ता केशवराज पाण्डेले मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने दाबी गरेका छन् । आन्तरिक किचलोका कारण गठबन्धनकै नेताहरुले समर्थन गर्नेउनले दावी गरेका हुन् ।
प्रदेशसभामा नेपाली कांग्रेसको २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ गरी ५८ सांसद हुन्छन् ।