भक्तपुर । रुद्रामाया भेले एक पोको मकै र एक पोको जौँ लिएर भक्तपुरको टौमढीमा बेच्न बसिन् । ‘जौँ लिनुस् । एक गिलासको १५ रुपैयाँ ।’ उनले यसरी नै ग्राहक बटुल्छिन् ।
दुई दिन यता साँझ ५ बजे एक पाथी मकै र एक पाथी जौँ लिएर टौमढीमा व्यापार गर्न पुग्न थालेकी हुन् । उनी भन्छिन्, ‘मोहनी नखा(दशैं) मा जौँ र मकैको जमरा राख्नुपर्छ । सबैलाई चाहिन्छ । त्यही भएर बेच्न आएकी हुँ ।’
चाँगुनारायण नगरपालिकामा उनको खेत छ । मकै र जौँ उत्पादन गरेकी उनी दशैंको मौका छोपेर बेच्न हिँडेकी हुन् ।
टौमढीका लक्ष्मीकुमार भेले पनि दुई पाथी मकै र जौँ लिएर व्यापार गर्न बसेका थिए । सहरमा जग्गा बेचेर घर बनाइसकेकाले दशैंमा जमरा राख्न मकै र जौँ नहुने हुँदा बेच्न आएको उनी बताउँछन् ।