काठमाडौँ । भारतले अस्ट्रेलियालाई चौंथो टी-२० मा २० रनले पराजित गरेसँगै पाँच खेलको सिरिज एक खेल अगावै ३-१ ले जितेको छ। यो जितसँगै भारतले सर्वाधिक धेरै टी-२० अन्तर्राष्ट्रिय खेल जित्ने विश्व कीर्तिमान समेत बनाएको छ।
भारतले १ सय ३६ औं टी-२० अन्तराष्ट्रिय खेल जित्दै पाकिस्तानको सर्वाधिक १ सय ३५ टी-२० अन्तर्राष्ट्रिय जितको कीर्तिमान भंग गर्दै आफ्नो नाममा पारेको हो।
रायपुरमा भएको चौंथो टी-२० मा अस्ट्रेलियाले तेस्रो टी-२० मा नायक बनेका म्याक्सवेललाई आराम दिएको थियो। त्यसो त जारी सिरिजमा भारतले आफ्नो स्टार खेलाडी रोहित शर्मा, विराट कोहलीलगायत खेलाडीलाई सुरुवातबाटै टिममा समेटेको थिएन।
रायपुरमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो। उसका लागि रिन्कु सिंहले सर्वाधिक ४६ रन बनाउँदा जितेश शर्माले ३५ रन बनाए त्यस्तै, यशस्वी जैसवालले ३७ तथा ऋतुराज गाइकवार्डले ३२ रन बनाएका थिए। अस्ट्रेलियाका लागि बेन ड्वारस्विसले ३ विकेट लिँदा जसोन बेहेन्ड्रफ र तनभिर संगाहले समान २-२ विकेट लिएका थिए।
१ सय ७५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५४ रनमा समेटियो। उसका लागि ट्रभिस हेडले ३१ रन बनाउँदा कप्तान म्याथ्यु वेडले ३६ रनको अविजित इनिङ खेले।
त्यस्तै, बेन म्याक्डेर्मोट र टिम डेभिडले समान १९-१९ रन बनाएका थिए। भारतका लागि अक्षर पटेलले ३ विकेट लिँदा दिपक चाहरले २ विकेट लिएका थिए।
यी दुईबीचमा अन्तिम टी-२० डिसेम्बर ३ मा बैंगलोरमा हुने छ।