वेलुन व्यापारमा अड्किएको दशैं

विहीवारको दिन । छेउमा दुर्गन्धित विष्णुमती बगिरहेको छ । सडकको किनारासँगै प्रफुल छ सोभा भगवती मन्दिर । भिडभाड बढी नै छ । सडक किनारको छेउपट्टि वेलुन नै वेलुन छ । त्यही परिवेशमा साइकलमा टन्नै रंगीविरङ्गी बेलुन राखेर बसिरहेका केही निनाउँरो अनि हल्का हाँसो सहितको अनुहार । दशैं लाग्यो । व्यापार छैन ।

तर पनि मुहारको हाँसो रोकिएको छैन । हरेक वर्ष आजकै दिन (घटस्थापना) बाट लगातार दशैंभरी हावा भरेको वेलुन बेचेर दशैं खर्च जोहो गर्छन् रामजनम । उनीसँगै उनका वृद्ध बुवा पनि वेलुनमा हावा भर्न व्यस्त हुन्छन् यी दिनहरुमा । तर यसपालिको वेलुन व्यापारमा भने शंका छ उनलाई । सबै कामहरुको बन्दोबस्त गरेर फुर्सदको समय निकालेर घर परिवार र आफन्तसँग खुशी साट्ने पर्वका रुपमा दशैंलाई लिईन्छ । तर रामजनमलाई दशैं मनाउने भन्दा पनि दशैंमा कसरी कमाउने भन्ने चिन्ताले सताएको छ ।

घटस्थापना (जमरा राख्ने दिन) देखि जमरा सेलाउने पूर्णिमासम्म सोभा भगवती मन्दिर छेउछाउ हावाले फुलेका वेलुन अलि धेरै नै देखिन्छ । मन्दिरमा दशैंको रौनक छाउने भएपछि बालबालिकाले रुचाउने वेलुन फुलाएर वेच्नेको लाइन लाग्छ । त्यही लाइनमा मिसिन्छन् रामजनमका बुवाछोरा । निक्कै वर्ष भइसक्यो यी बुवाछोराले दशैंको समय वेलुन फुलाउन थालेको । वेलुनको आकार उस्तै तर मूल्य र रंगीचंगी भने प्रत्येक दशैंमा बढीरहन्छ । लगानी पनि त्यही अनुसार बढाउनुपर्छ उनीहरुले ।

नेपाल भारतको सिमानामा बाल्यकाल बिताएका रामजनम काठमाडौं पस्दा पुराना घरहरु मात्रै थिए । दशैंको बेला काठमाडौंमा जताततै धानका बाला झुल्ने गथ्र्याे । तर अहिले धानका बाला देख्नै छाडेको उनी बताउँछन् । उनको बुबाले नयाँ बसपार्कमा दैनिक ५ रुपैयाँको चटपटे बेचेको हिजो जस्तै लाग्छ उनलाई ।

त्यही ५ रुपैयाँले बेलुकी खाने रासन र भोली बेच्ने चटपटेको सामान समेत पुग्थ्यो । उनले यी कुरा सुनाउँदै गर्दा एउटा कहानी जस्तै लाग्छ । तर उनी त्यही रामजनम हुन् जसले बुबाको ५ रुपैयाँको व्यापारदेखि दैनिक ५ हजारसम्मको व्यापारलाई प्रत्यक्ष हेर्दै आएका छन् । उनकै बुवाले सुरु गरेको वेलुन व्यापारमा व्यस्त छन् उनी अहिले ।

वेलुनमा भर्ने ग्याँस र पाउडरको खोजीमा उनी पाटनसम्म पुग्ने गर्छन् । यी सामानहरु झनझन महंगो हुँदै गएको उनको अनुभव छ । ग्याँस र पाउडर महंगो भएपछि वेलुनको मूल्य स्वत महंगीने भइहाल्यो । वेलुन किन्ने ग्राहकले महंगो भएको भन्दै नकिनि जाने गर्छन् । गत वर्ष घटस्थापनाकै दिन राम्रो व्यापार भएकोमा यो वर्ष विहानदेखि दिउँसोसम्म ५ सय रुपैयाँको पनि कमाइ नभएको उनले बताए ।

यो साल लगानी नै नउठ्ने हो कि भन्ने डर छ उनलाई । व्यापार राम्रो भयो भने उनको श्रीमतीले भान्सामा मिठो पकाउन पाउँछिन् । उनको छोराले पनि रमाउन पाउँछ । अनि बुढि भएकी आमाले पनि हाँस्न पाउँछिन् । व्यापार राम्रो भएन भने सबै कुरा मत्थर भइदिन्छ । तर पनि उनी मुखमा हाँसो बोकेर बसेका छन् साइकलबाट उडिरहेको वेलुनसँगै । व्यापार सँधै राम्रो हुँदैन भन्ने कुराको अनुभव छ उनलाई ।

बावुछोराको यहि कमाइले डेराको भाडा तिर्ने, बिहान बेलुकीको छाक टार्ने र छोरा पढाउने गर्छन् रामजनम । कमाइ अनुसारको खवाइ पाक्छ उनको घरमा । दिनभरी वेलुन व्यापार गरेर बेलुकी दशैं मनाउँछन् उनी । अरुले झैं रमझम र रमाइलोमा दशैं मनाउन मन नभएको होइन उनलाई । दशैं भरी वेलुन व्यापारको लागि उपयुक्त समय भइदिएपछि रमाउने भन्दा दुई पैसा कमाउनेमा छ उनको ध्यान ।

सडक पेटीमा वेलुन उडाउँदै बेच्ने उनलाई केही मानिसहरुको व्यवहारप्रति साह्रै मन दुख्छ । मान्छेको जस्तो व्यवहार नै नदेखाउँदा भने सडक पेटी चटक्कै छोड्न मन लाग्छ, उनले भने । उनले जानेको नै यहि सडक पेटीमा व्यापार गर्नु हो । यो काम छाडेर परिवारको पेट कसरी भर्नु भन्ने लाग्छ र त्यही काम गर्छन् । समयसँगै यस्ता व्यवहारलाई पचाउन सिकेका छन् उनले ।

वेलुनसँग जिन्दगीको सम्बन्ध बढाइरहेका रामजनम त प्रतिनिधि पात्र मात्र हो । रामजनम जस्तै धेरैले दशैंलाई राम्रोसँग अनुभव पनि गर्न पाएका छैनन् । कोरोना कहरले गर्दा सडक किनाराका साना व्यापारीदेखि ठूला व्यापारीसम्मलाई सताएको छ, पछिल्लो दुई बर्ष ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.