साउन, भदौको झरीले रुझेका ती आकाश उघ्रिँदै गर्दा कुख्रेढुङ्गामा भने छुट्टै रौनक देखिन्छ । घटस्थापनाको विहान भालेको डाँकभन्दा अघि दैलो–दैलो पुगेर डमरु बजाउँदै दशैं सुरु भएको सन्देश दिन आइपुग्छन् डमरु बाजे । ठूलाबडाका अनुसार त्यही आवाज बजेसँगै दशैं सुरु हुन्छ र दशैंभर प्रत्येक विहान त्यो डमरु बजिरहन्छ ।
असोज महिना अर्थात शरद ऋतृ लागेसँगै आकाशमा उदाउने घामले छुट्टै संकेत दिन थाल्छ । साउन, भदौको झरीले रुझेका ती आकाश उघ्रिँदै गर्दा कुख्रेढुङ्गामा भने छुट्टै रौनक देखिन्छ । असोज महिनाको सुरुवातीदेखि नै गाउँभरी दशैंको योजनाहरु असरल्ल छरिन थाल्छ । सिंगो नेपालीले महसुस गर्ने खुशीयाली र हर्ष भन्दा अलि फरक छ यो गाउँको हर्ष ।
घटस्थापनाको विहान भालेको डाँकभन्दा अघि दैलो–दैलो पुगेर डमरु बजाउँदै दशैं सुरु भएको सन्देश दिन आइपुग्छन् डमरु बाजे । ठूलाबडाका अनुसार त्यही आवाज बजेसँगै दशैं सुरु हुन्छ र दशैंभर प्रत्येक विहान त्यो डमरु बजिरहन्छ । त्यसै त यो गाउँमा कामले फुर्सद हुँदैन झन दशैं सुरु भएपछि काम बढ्न थाल्छ ।
दशैं सुरु भएसँगै सबैको आ–आफ्नो कामको जिम्मेवारी पनि बढ्छ । छोरी मान्छे सबै जना घर लिपपोतका लागि रातो माटो र कमेरो खोज्न नाम्लो, डोको र कुटो बोकेर टाढाँ–टाढाँसम्म पुग्ने गर्छन् । अझै पनि यो गाउँमा परम्परागत कमेरो र रातो माटो पोत्ने प्रचलन रहेको छ । सिंगो गाउँभरीका दिदिबहिनी मिलेर माटो खन्न जाँदा मेला नै लागेको भान हुन्छ ।
डोकोमा भरेर ल्याएको रातो माटो र कमेरोले बुट्टा भरेर घर पोत्दा शहरको महंगो रंगभन्दा अझ सुन्दर देखिन्छन् टोल बस्ती । घरका अन्य केटाकेटीहरु भने दशैंलाई स्वागत गर्नका लागि बाटो घाटो सफा गर्ने, घर वरपर सफा गर्ने काममा व्यस्त हुन्छन् । त्यसमाथि आफ्नो दौंतरीसँग मिलेर सरसफाईमा लागि पर्नुको मज्जा नै छुट्टै ।
गाउँमा दशैंको मौलिकता जोगाइराख्नका लागि लिंगे पिङ र रोटे पिङ थाप्न व्यस्त हुन्छन् युवाहरु । जंगलबाट बोट काटेर ल्याउने पिङको लिङ्गो ठडाउने जिम्मा युवाहरुको हुन्छ भने ती सम्पूर्ण युवालाई खाजा खानाको व्यवस्था गर्ने जिम्मा भने युवतीहरुको समुहले लिने गर्छन् । दिनभरीको कामको थकाई मेटाउन युवा युवतीहरु बेलुकीको समय भने झ्याउरे, चुट्का नाचमा रमाउन थाल्छन् । धेरै जसो गुरुङको मौलिक गीतमा रम्न रुचाउँछन् ।
फुलपातिको दिन छोरा मान्छे सबै राँगा मार हान्ने काममा व्यस्त हुन्छन् । उक्त दिन सिंगो गाउँका लागि एकदमै अविस्मरणीय दिनको रुपमा रहन्छ । राँगा मार हानेको स्थानमै भुटुवा बनाएर भोज खाने चलन छ । गाउँका केटाकेटीहरु त्यही भुटुवा खानका लागि दिनभरी कुरेर बस्छन् । उक्त दिन र समयले वयस्क मनस्थितिलाई पनि बालापनको सम्झनामा पुर्याइदिन्छ ।
अष्टमिको दिनभने सम्पूर्ण आमा दिदिबहिनीहरु रक्सी बनाउने काममा जुट्छन् । बजारको रक्सिभन्दा गाउँमै बनाएको तिनपानेलाई बढी रुचाउँने गर्छन् सबैजना । नवमिको दिन तयारी अवस्थामा रहेको पिङमा भोग चढाउने चलन रहेको छ । युवतीहरु सेलरोटी र रक्सिको जोहो गर्न जुट्छन् भने युवाहरु लिंग पूजा र बोका, कुखुरा काटेर पकाउन व्यस्त हुन्छन् । पिङ खेल्न शुरु हुन्छ । भोज तयार भएसँगै सिंगो गाउँ नै मौलिक नाचगानमा व्यस्त हुन्छन् । विशेषतः यो दिन युवायुवतीहरुले रमाइलो मान्ने गर्छन् ।
दशमी अर्थात दशैंको टिकाको दिन भालेको डाँकसँगै सबैजना टिका लगाउने तयारीमा जुट्छन् । घरका ठूलाबडा जमरा, दूबो र पातिको जोहोमा लाग्छन् । बालबालिकाहरु भने निधारमा सेतो टिका र शिरमा बडाको आशिर्वाद थाप्दै गाउँ डूल्छन् । एउटै गाउँका भएपनि जमघट र भेटघाटका लागि भने यहि दिन बिशेष रहन्छ । सुखदुखका कुरा पोखाउने, आफन्तजनसँग भेटघाट गर्ने सुनौलो दिन पनि यहि दिन हो । हातभरी साना–साना नोटसँगै सयौं रुपैयाँ जम्मा भइसकेको हुन्छ । यसरी नै वित्छ टिकाको दिन ।
सेतो टिकाले सजिएको दिन ढल्दै गर्दा गाउँका युवायुवतीहरु भने रमाइलो गीतसंगीतको तगारीमा लाग्छन् । रमाइलो हेर्नका लागि अरु गाउँबाट समेत मानिसहरु आउने गर्छन् । वर्षौंसम्म नभेटेका साथीसंगी पनि यहि साँझको नाचगानामा भेटिन्छन् । सिंगो रात नै साँगीतिक रात बनिदिन्छ ।
विहेवारी भएर पराई घर पुगेका छोरीचेली भने पूर्णिमाको दिनसम्म टिका थाप्न माइति गाउँमा आउने गर्छन् ।
गाउँभरिका मान्छे घर परिवार आफन्तसँग बसेर भलाकुसारी गर्दै मिठो–मिठो परिकारहरु पकाएर खाने गर्छन् । पूर्णिमाको दिनको समाप्तिसँगै दशैं मनाउन गाउँ पसेकाहरु पुन आफ्नो कर्मथाले फर्कन थाल्छन् । अन्तत अर्काे वर्ष पुन सँगै दशैं मनाउने वाचा सहित कुख्रेढुङ्गाका युवायुवतीहरु छुटिन्छन् ।