विवादका कारण कांग्रेसको वडा अधिवेशन स्थगित
वडा सभापितका लागि मनोनयन दर्ता गर्ने क्रममै विवाद भएपछि सहमति गरेर वडा अधिवेसन स्थगित गरिएको सूचना टाँस गरिसकिएको छ ।
खोटाङ । विवादका कारण खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- ९ निर्मलीडाँडाको वडा अधिवेसन स्थगित गरिएको छ । चुनावका लागि वडा सभापतिको मनोनयन दर्ता गर्ने क्रममा विवाद भएपछि शुक्रबारको वडा अधिवेसन स्थगित गरिएको मतदान अधिकृत घनश्याम आचार्यले बताए ।

वडा सभापितका लागि मनोनयन दर्ता गर्ने क्रममै विवाद भएपछि सहमति गरेर वडा अधिवेसन स्थगित गरिएको सूचना टाँस गरिसकिएको छ । वडा सभापतिका लागि वर्तमान सभापित देशकुमार राई, विष्णुप्रसाद ढकाल, प्रेमकुमार राई र रमाहाङ राई आकांक्षी देखिएका छन् । विवादपछि सहमति गर्न खोजिए पनि सहमति नजुटेपछि वडा अधिवेशन स्थगित गरिएको मतदान अधिकृत आचार्यले बताए ।

दुई उम्मेदवारबीचको पुरानो तुषको विषयले उम्मेदवारी मनोनयनका क्रममा विवाद निम्तिएको बताइएको छ । 

दुईवटा नगरपालिका, आठवटा गाउँपालिका र ७९ वटा वडा रहेको जिल्लामा सहमति जुटेका वडामा निर्विरोध वडा कार्यसमिति चयन गरिएको र सहमति जुट्न नसकेका वडामा चुनावी प्रक्रिया अघि बढाइएको कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए ।

जिल्लाकै ठूलो नगरपालिका दिक्तेल रूपाकोट मझुवागढी- १ दिक्तेलमा सदस्य पदका लागि चुनावी प्रक्रिया अघि बढेको छ । वडा सभापति, खुला, महिला, जनजाति खुला, जनजाती महिलालगायतमा सहमतl जुटे पनि खुला सदस्य, दलित खुला र खस आर्य खुलामा चुनाव हुन लागेको कांग्रेसले जनाएको छ ।

यस्तै, ७ वटा वडा रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको छितापोखरी र सछितापोखरीबाहेकका वडामा चुनाव हुने देखिएको छ । गाउँपालिका अध्यक्ष भूपेन्द्र राईको वडा याम्खामै घम्साघम्सी चुनावी प्रक्रिया अघि बढेको छ । याम्खामा नेत्रकुमार राई र रामचन्द्र राई वडा सभापतिका लागि चुनावी मैदानमा उत्रिएका छन् । यस्तै, भूपेन्द्र राई, नइन्द्र राईलगायत क्षेत्रीय प्रतिनिधिमा उठेका छन् । 

६ वटा वडा रहेको जन्तेढुंगा गाउँपालिकाको काहुले र चिसापानीमा वडा कार्यसमितिको नेतृत्व र क्षेत्रीय प्रतिनिधिका लागि निर्वाचन हुँदै छ । केपिलासगढी गाउँपालिकाको सुँदेलमा चुनावबाट इच्छाबहादुर पौडेल वडा सभापतिमा विजयी भएको कांग्रेसका संगठन विभाग प्रमुख समिर राईले बताए ।

केपिलासगढीका अन्य वडामा सहमतिको प्रयास भइरहेको जनाइएको छ । कांग्रेसको वडा अधिवेशनबाट वडा सभापतिसहित २३ सदस्यीय वडा कार्यसमिति र १७ जना क्षेत्रीय प्रतिनिधि चयन गर्ने व्यवस्था छ । कांग्रेसको उपल्लो पदमा लड्नका लागि क्षेत्रीय प्रतिनिधि अनिवार्य चुनिनुपर्ने भएकाले क्षेत्रीय प्रतिनिधि चयनमा ठूलै प्रतिस्पर्धा हुने गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.