गुल्मीमा जनताको दसैँ पर्वमा प्रतिबनध भने राजनितिमा छुट

गुल्मी । गुल्मीमा विभिन्न राजनीतिक दलका कार्यक्रममा सयौँको संख्यामा जमघट हुँदै आएको छ । तर दसैंका लागि विभिन्न सांस्कृतिक–परम्परामा भने जिल्ला प्रशासन कार्यालयले प्रतिबन्द लगाएको छ ।

कोरोना संक्रमणको दोश्रो लहर कै बिचमा नेकपा एमालेका दुई खेमाले सदरमुकाम तम्घासमा सयौं कार्यकर्ता उतारेर शक्ति प्रदर्शन समेत गरेका थिए । लगत्तै नेकपा माओवादी केन्द्रले सदस्यता वितरण र वडा भेलामा सयौं कार्यकर्ता उतारेका पनि थिए। पछिल्लो समय नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन र हालै पालिकास्तरको अधिवेशन पनि सम्पन्न भएको छ ।


राजनीतिक दलका तर्फबाट आयोजित भिडभाड कार्यक्रमलाई निर्वाध सञ्चालन हुन दिएको र स्थानीय प्रशासनले सर्वसाधारणलाई भने दसैँ मनाउन पनि सीमित छुट दिएको छ । हिजो जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई निरन्तरता दिँदै कोत–मन्दिरहरुमा परम्परादेखि चल्दै आएको सराय नाच लगायतको धार्मिक–संस्कृतिक परम्परामाथि प्रतिबन्द लगाएको छ ।


प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्यालद्वारा जारी सूचनामा निषेधाज्ञालाई निरन्तरता दिँदै दसैँको सराय नाच समेतलाई रोक लगाउँदै उक्त सूचना पालना नगरेमा कानुन अनुसार कारबाही गरिने चेतावनी समेत दिए ।


बैठकमा सहभागी विभिन्न सरोकारवालाहरूले सराय नाच लगायतका दसैँ संस्कृतिमा रोक लगाउन नहुने आवाज उठाए पनि राजनीतिक दलका प्रमुख प्रतिनिधिहरू भने मौन नै बसेका थिए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.