पहिरोले अरुण तेस्रोको विद्युत् गृहस्थलको सडक अवरुद्ध
पहिरोले अरुण तेस्रोको विद्युत् गृहस्थल जाने छ्याङ्कुटी-दिदिङ सडक खण्डको चिचिला गाउँपालिकाको दिदिङमा सडक अवरुद्ध भएको हो ।
काठमाडौं । लगातारको वर्षापछि आएको पहिरोले संखुवासभामा निर्माणाधीन ९०० मेगावटको अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल पुखुवा जाने सडक खण्ड अवरुद्ध भएको छ । पहिरोले अरुण तेस्रोको विद्युत् गृहस्थल जाने छ्याङ्कुटी-दिदिङ सडक खण्डको चिचिला गाउँपालिकाको दिदिङमा सडक अवरुद्ध भएको हो ।

बिहीबार राति खसेको पहिरोले अरुण तेस्रोको विद्युत् गृहस्थल जाने उक्त सडक खण्ड अवरुद्ध भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । अरुण तेस्रोको विद्युत् गृहस्थल छ्याङ्कुटी-दिदिङ सडकका विभिन्न स्थानमा पहिरो खसेको छ ।

अवरुद्ध सडक खण्डको पहिरो हटाउन शुक्रबार दिउँसोदेखि नै थालिएको प्रजिअ पौडेलले बताए । छ्याङ्कुटी-दिदिङ खण्ड अवरुद्ध हुँदा अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल पुखुवा जाने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । पहिरो हटाउन अरुण तेस्रो आयोजनाका दुईवटा स्काभेटरले काम गरिरहेको उनले बताए ।

शनिबार दिउँसोसम्म पहिरो हटाउने काम सकेर सडक खोलिने गरिने प्रजिअ पौडेलले बताए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.