काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरूलाई इमान्दारिता र कर्तव्य निष्ठाका साथ देश र जनताको हितमा काम गर्न निर्देशन दिएका छन् ।
पार्टीबाट नियुक्त मन्त्रीहरूलाई आइतबार पार्टी केन्द्रीय कार्यालमा बोलाएर नेता नेपालले इमान्दारिता र कर्तव्यनिष्ठ हुन निर्देशन दिँदै नेपालले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरूबाट मुक्त हुन पनि सचेत गराए ।
नेपालले भने,‘बदनामी कमाउने र विवादमा पर्ने कुनैपनि कामहरू तपाईंहरूबाट हुने छैनन् भन्ने कुराको हामीले आशा र अपेक्षा गरेका छौँ । मन्त्रीहरू रक्सी खाएर मात्तिए, बेलुका-बेलुका फाइभस्टार होटलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरू सँग बसेर यिनै कुरा गरिरहेका छन् भन्नेकुरा सुन्नु नपरोस् । सीधा कुरा, रक्सी खाने बानी छ भने पनि बानी त्याग्नुस् । अरु आचरण, महिलासँग जोडिएका त्यस्ता कुनै कुरा सुन्नु नपरोस् । त्यस्ता व्यवहारहरू तपाईंहरूबाट नहोस् । यस कुरामा म जोड दिन चाहान्छु ।’