भक्तपुर । यत्रतत्र इँट्टा नै इँट्टाको थुप्रो छ । चर्काे घामले तातिएको जस्तामुनि छाया लागेर काँचो इँट्टा सुकाउने र चाङ लगाउने काम चलिरहेको छ । कोही पाकेर रातै भएका इँट्टा मिलाउन त कोही माटोलाई आकार दिन व्यस्त छन् । भक्तपुर इँट्टाभट्टामा काम गर्नेहरुको महिलाहरुको दैनिकी यसरी नै बितिरहेको छ ।
त्यही इँट्टाको चाङ मिलाउँदैछिन् सोभा मैनाली पनि । जतिजति इँट्टाको चाङ लाग्दै जान्छ उनको मनमा उति नै पीडा थपिँदै जान्छन्। दुई सन्तानलाई खान लाउन र पढाउन र श्रीमानको औषधि खर्च जिम्मेवारी उनकै काँधमा छ । पहिले श्रीमान उनीसँगै इँट्टा बनाउने काम गर्थे । दुईजनाको कमाइले परिवारको आवश्यकता धान्न गाह्रो थिएन । मिठोमसिनो पाकेकै थियो ।
तर, जाँड खाने बानी लागेका उनका श्रीमानले जाँड खान छाडेपपछि बिरामी भएका छन् । मासिक रुपमा परीक्षण र औषधि खाइरहनुपर्छ । बिरामी श्रीमानलाई काममा पठाउन उनको नैतिकताले दिँदैन । १० वर्षको छोरा र १४ वर्षकी छोरीलाई पढाउन साह्रो मुस्किल छ । आफ्ना सन्तानले दुख भोग्न नपरोस् भनेर उनी बिहान बेलुकी नै काममा खटिएर जसोतसो छोराछोरीलाई सरकारी स्कुलमा पढाएकी छिन् ।
प्रत्येक बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्मको समय उनी इँट्टा भट्टामै हुन्छिन् । इँट्टा बोक्ने, मिलाउने, सुकाउने काममा व्यस्त छिन् । दिनभरिको थकान मेटिन नपाउँदै उनी बेलुका गलैँचा बुन्न पुग्छिन् । करिब चार वर्षदेखि उनको दैनिकी यसरी नै बितिरहेको छ ।
दिनभरिको भागदौडले गलेको जीउलाई आजकल निदाउन पनि गाह्रो हुन थालेको छ । जतिजति दिन बित्दै जान्छन् त्यत्ति नै उनलाई पीर बढ्न थालेको छ । घरमा सानो छोरोले दशैंको कुरा निकाल्दा मासिक १४ हजार पारिश्रमिकले के के मात्रै जोहो गर्ने भनेर चिन्तित हुन्छिन उनी ।
‘छोरी त बुझ्ने भइसकिन् जसोतसो चित्त बुझाउन सकिएला । तर छोरो सानै छ साथीभाइको देखेपछि माग्नु स्वाभाविक नै हो,’ उनी भन्छिन्, ‘बच्चालाई लुगाफाटोको जोहो गर्न बाँकी छ । दशैंमा दुई छाक भए पनि मिठो मसिनो खुवाउनै पर्यो । धेरथोर पाहुनाबाजी चल्छ नै । आफन्तजन, नातागोतामाझ पनि पुग्नै छ । यी सारा बन्दोबस्तको तालमेल मिलाउन हम्मेहम्मे छ ।’
शोभा मैनाली प्रतिनिधि पात्र हुन् । भक्तपुरका इँट्टा भट्टामा मात्र नभएर देशैभर यस्ता शोभाहरु भेटिन्छन् ।