अपर छ्याङ्दीकोे विद्युत उत्पादन परीक्षण सफल
लमजुङको दोर्दी गाउँपालिकास्थित छ्याङ्दी खोलामा निर्माण गरिएको अपर छ्याङ्दीखोला साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिएको छ ।
लमजुङ । लमजुङको दोर्दी गाउँपालिकास्थित छ्याङ्दी खोलामा निर्माण गरिएको अपर छ्याङ्दीखोला साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिएको छ ।

चार मेगावाट क्षमताको सो आयोजनाको निर्माण कार्य सम्पन्न गरी विद्युत उत्पादनको आन्तरिक परीक्षण सम्पन्न गरिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत एलबी थापाले जानकारी दिए ।

२०७५ मा निर्माण सुरु गरिएको सो आयोजना २०७७ साउनभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता पिपिए अनुसार विद्युत उत्पादन गर्ने मिति २०७८ तोकिएको छ । 

आयोजनाको बाँधस्थलबाट सर्जट्याङ्कसम्म २ हजार ८ सय ७४ मिटर हेडरेस र सर्जट्याङ्कबाट १ हजार ३ सय ५६ मिटर पेनस्टक पाइपबाट पावरहाउसमा पानी खसालिइएको छ। यसको कुल हेड ७ सय ४५ मिटर रहेको छ। यो जिल्लामा सञ्चालित सबै आयोजनाको भन्दा बढी हो।

पावरहाउसमा २ वटा फोर्ज पेल्टन टरवाईन र २ वटा जेनेरेर जडान गरिएको छ । टरवाइटन युरोप र अन्य सामाग्री भारत निर्मित रहेको आयोजनाले जनाएको छ। यहाँबाट उत्पादित विद्युत २ मेगावाटको तल्लो छ्याङ्दी जलविद्युतको सवस्टेशनमा लगिनेछ । तल्लो छ्याङ्दीमा छुट्टा–छुट्टै मिटर रिडिङको व्यवस्था गरी प्राधिकरणको उदिपुर सवस्टेशनमा जडान गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ। दुवै आयोजना छ्याङ्दी हाइड्रोपावरले निर्माण गरेको हो ।

आयोजना निर्माणमा ८० करोड ३५ लाख खर्च भएको प्रवद्र्धक कम्पनी छ्याङ्दी हाईड्रोपावरले जनाएको छ । आयोजनामा बैंक अफ काठमाण्डु र कुमारी बैंकले ७५ प्रतिशत ऋण तथा २५ प्रतिशत स्वपुँजी लगानी रहेको छ ।

प्राधिकरणको नयाँ मापदण्डअनुसार बर्खायाममा प्रतियुनिट ४.८० पैसा र हिउँदमा प्रतियुनिट ८.४० पैसाको दरमा पिपिए भएको आयोजनाले जनाएको छ । वार्षिक २२.३०६ गिगावाट घन्टा विद्युत उत्पादन गर्ने आयोजनाका लागि खरिद दरमा ८ पटकसम्म मूल्यवृद्धिको सुविधा दिइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.