रिक्सासँगै न्यूरोडको गल्लीमा गुड्दै छ जिन्दगी

काठमाडौं । काठमाडौंको मुटु न्युँरोड, हरेका समय भिडभाड भइरहन्छ । न्यूरोडसँगै जोडिएको छ असन बजार । जुन काठमाडौंको मात्र होइन देशकै पुरानो बजार भन्दा फरक नपर्ला । जुनसुकै बेला पनि अस्तव्यस्त रहने यो बजारमा फूलपातीको अघिल्लो दिन खुट्टाहाल्ने ठाउँ थिएन । सार्वजनिक र निजी सवारी साधनको त्यस्तै चाप। मान्छेको भिडले निसासिएको छ बजार ।

मध्य दिनको समय चलिरहेको बजारमा कोही आफ्ना लागि त कोही बच्चाबच्ची र परिवारका लागि सामान किन व्यस्त थिए । कसैलाई ग्राहकको ध्यान तान्दै आफ्नो सामान बिक्री गर्न भ्याइनभ्याई थियो ।

कोलाहाल मानिसहरुको भिडमा उदास अनुहारमा देखिएका थिए दोर्जे । तिनचक्के रङगीविरङगी फुलबुट्टे रिक्सा त्यसमथि विभिन्न आकर्षक मनै लोभ्याउने फूलको सजावट। झट्ट हेर्दा जो कसैको मन लोभिन सक्छ । उनको रिक्सा कुनै सजिएकी बेहुलि भन्दा कम थिएन । यस्तो मनमोहक रिक्सामा विभिन्न सामान र मानिस राखेर कहिले इन्द्रचोक, कहिले ठमेल त कहिले भृकुटीमण्डपसम्म पुग्छन् ।

यसरी नै सामान र मानिस ओसारपसारमा नै दिनचर्या वित्ने रहेछ उनको । दशैंको फुलपाति आइसके पनि व्यापारमा भने सुधार नआएको उनको गुनासो छ । त्यत्तिका मानिस छन् । सबै आ–आफ्नो काममा भ्याईनभ्याई छ । तर दोर्जे भने रिक्सामाथि खुट्टा हल्लाएर बसीरहेका छन् । विहान अलिअलि काम पाउने तर दिउँसो भने खासै नहुँने उनि बताउँछन् ।

कभ्रे तिमालका दोर्जे ४० कटेर ४१ टेक्दै छन् । उनका तिन छोरी र चार छोरा गरी सात सन्तान छन् । जेठो छोरो भने केहि महिना अघि रोजगारीको सिलसिलामा परदेशिएका रहेछन् । बाँकी परिवार गाउँमै छन् । उनको श्रीमती गाउँमा खेतिपाती गर्छिन् । उनी भने विगत ८ वर्ष देखि एक्लै डल्लु स्थित डेरा गरेर बसेका छन् ।

विहान उठ्छन् रिक्सा सिङ्गार्छन, अनि यात्रु खोज्न हिँड्छन् । बाटोमा अलपत्र परेका, सामान लिएर बसेका मानिस देखे भने, ‘दाई जाने हो ? दिदि कहाँ पुग्ने हो ? जाने भा आउनुस है’ भन्न उनि हिच्किचाउँदैनन्। जता धेरै भिड छ, त्यतै कुद्छन् । दिनमा १५०० देखि २००० सम्म कमाई हुन्छ ।

काठमाडौंको ठाउँमा खान बस्न परिहाल्यो । त्यसबाट बचेको रकम गाउँमा घरखर्चको लागि पठाउने गरेको उनले बताए । कमाई जस्तोसूकै भएपनि परिवारसँग बसेर दशैँ मनाउनै पर्यो, । दशै मनाउन उनी फूलपातीको दिन गाउँ जाने तयारी पनि छन् ।

त्यसै भिडमा भेटिए अर्का रिक्सावाला लक्ष्मण तामाङ । उनको घर काभ्रे रोशी गाउँपालिका रहेछ । उनको सिंगो परिवार काठमाडौंमा बस्दै आएका छन् । श्रीमती, एक छोरा र एक छोरीको एकल परिवारलाई रिक्सा चलाएरै पालेका छन् उनले । उनले २०५२ साल तिर ८ कक्षा पास गरेका थिए । तर कर्म भने रिक्सासँग जोडिएको छ।

माथिल्लो स्तरमा आफ्नो मान्छे नभएको र सरकारले रोजगारीको अवसर नदिएको हुदाँ आफ्नो शैक्षिक योग्यताको कदर गर्न नपाएको उनको गुनासो छ । आफ्नो समय यसरी नै व्यतित भयो । तर छोराछोरीको भने यसरी नै बित्न नदिने भन्दै छोराछोरीलाई पढाइतर्फ अग्रसर गराउँदैछन् उनी ।

कोरोना संक्रमण फैलिनुअघि उनी ठमेलस्थित विदेशीलाई आफ्नो रिक्सामा चढाएर घुमाउने गर्थे । कोरोना र लकडाउनले गर्दा एउटै विदेशी आएका छैनन् । जसका कारण रिक्सा मात्र होइन नेपालको पर्यटन व्यवसाय नै ठप्प छ । लकडाउन खुलेको र दशै आएकोले केहि आश पलाएको छ यसपालीकोलाई । तर पनि सोचे जस्तो कमाइ भने भएको छैन ।

दशैं दैलो छेउ आइपुगेको छ । तर कमाइ राम्रो भएको छैन । त्यसैले यसपालीको दशैं परिपवारसँग काठमाडौंमै मनाउने तयारीमा छन् लक्ष्मण ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.