काठमाडौँ। नेपाली सेनाले दशैको विशेष अवसरमा फूलपाती बढाइँ गरेको छ । मंगलबार पराह्न्न सैनिक मन्च टुँडिखेलमा आयोजित एक समारोहकाबीच सेनाले फूलपाती बढाइ्ँ गरेको हो । उक्त समारोहमा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारी को सवारी भएको थियो । समारोहमा नेपाली सेनाको टुकडीले राष्ट्रपति भण्डारीलाई सलामी अर्पण गरेको थियो ।
उक्त अवसरमा सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकठ्ठा बढाइँ गरेको थियो । बढाइँ कार्यक्रममा हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो ।
कोभिड–१९ को संक्रमणका कारण यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना गरिएको हो ।
सेनाले यो पटकको दशैँ समारोहमा कोभिड–१९ जोखिमका कारण पाहुनाको संख्या सीमित बनाएको थियो । सेनाले आयोजना गरेको समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायत समारोहमा उपस्थित थिए ।