आरपी सुवेदी
नेपालगञ्ज । कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेका बाँकेका ६ स्थानीय तहका विद्यालय आइतबारदेखि ‘स्मार्ट लकडाउन’ अनुसार तोकिएको मापदण्ड पूरा गरी भौतिक रुपमा सञ्चालन गर्ने तयारी गरिएको छ ।
कोरना संक्रमणको दर, मृत्युदर तथा जोखिमको अवस्थालाई निरन्तर विश्लेषण गरी खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरौनापुर र बैजनाथ गाउँपालिकामा भौतिक रूपमै विद्यालय सञ्चालनका लागि स्वीकृति दिइएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार एक महिनाकोे केस स्टडी गर्दा खजुरामा सात, जानकीमा दुई, डुडुवामा चार, राप्तीसोनारीमा नौ, नरौनापुरमा एक र बैजनाथ गाउँपालिकामा १३ जना मात्र संक्रमित रहेको पाइएकाले ग्रिन पालिकाको रूपमा घोषणा गरी स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालनका लागि अनुमति दिइएको हो ।
कोरोना संक्रमणको आधारमा बाँकेको कोहलपुर नगरपालिका रेड जोन र नेपालगञ्ज उपमहानगरपालिका एल्लो जोनमा परेको छ । कोहलपुरमा एक सय ४९ र नेपालगञ्जमा ४१ जना संक्रमित रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरकी उपप्रमुख उमा थापा मगरले नेपालगञ्ज एल्लो जोनमा रहे पनि स्वास्थ्यका मापदण्ड तथा एक सिफ्टमा एक तिहाइमात्र विद्यार्थी उपस्थिति गराउँदै विद्यालय भौतिक रूपमै सञ्चालन गर्ने तयारी अगाडि बढाइएको जानकारी दिइन् । ‘जोखिमको हिसाबले हामी एल्लो जोनमा छौं, तर पनि एक बेन्चमा दुईजना राख्ने, तीन सिफ्टमा विद्यालय सञ्चालन गर्ने, एकपटकमा भर्ना भएका विद्यार्थी संख्याको एक तिहाइमात्र उपस्थिति गराउने गरी जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रलाई सिफारिस गर्ने योजनामा छौं,’ उनले भनिन् ।
खजुरा गाउँपालिकाका विद्यालय सोमबारदेखि सञ्चालन हुने भएका छन् । कोभिडका कारण लामो समय बन्द रहेका विद्यालय आइतबारदेखि सञ्चालन गर्न खजुरा गाउँपालिकाले अनुमति दिए पनि सरसफाइ तथा अन्य व्यवस्थापन गर्नुपर्ने भएकाले सोमबारदेखि विद्यालय खोल्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिए । कक्षाकोठामा एक साथ विद्यार्थी राख्दा स्वास्थ्य मापदण्ड पालना नहुने भएकाले दुई सिफ्ट प्रणालीको आधारमा कक्षा सञ्चालन गर्ने, एक बेन्चमा दुईजना विद्यार्थी र जोर–बिजोर कक्षा सञ्चालनको मापदण्ड तोकेर अनुमति दिइएको उनको भनाइ छ ।
