भक्तपुर । भक्तपुर ऐतिहासिक महत्व बोकेको जिल्ला । मन्दिर अनि पोखरीले भरिएको जिल्ला भन्दा फरक नपर्ला । जति पनि मानिस घुमघामका लागि भक्तपुर पुग्छन्, यहाँ भएका मन्दिर, पोखरी अनि दरबार छुटाउँदैनन् । मल्लकालिन इतिहासलाई नियाल्दै गर्दा जुजु धौको स्वाद लिन छुटाउँदैनन् आन्तरिक तथा बाह्य पर्यटक । अझ कोहि कोही त जुजु धौ खानकै लागि भक्तपुरसम्म पुग्ने गर्दछन् ।
नेपाली समुदायमा दहीको लोकप्रियता धेरै रहेको छ । पौष्टिक आहारदेखि शुभसाइतसम्म दहीको प्रयोग हुने गरेको छ । अझ नेवार समुदायमा दही नभइ नहुने तत्वको रुपमा लिइन्छ । यसकारण पनि भक्तपुरमा जुजु धौको अस्तित्व कायम रहेको छ । जुजु धौलाई दहीको राजाको रुपमा पनि लिने गरिन्छ । विशेष खालको स्वादका कारण जुजु धौको लोकप्रियता देशभर नै छाएको छ ।
भक्तपुरमा बनेको जुजु धौको स्वादकै कारण केही समयअघि उत्तर कोरियाका राजदूत स्वयम भक्तपुर आइपुगेको भक्तपुर महानगरपालिकाका मेयर सुनिल प्रजापति बताउँछन् । विशेषगरि भक्तपुरमा बनाइने जुजु धौ काठमाडौं र ललितपुरको बजारमा पनि सजिलै पाइन्छ । यसका अलावा माग अनुरुप देशका विभिन्न स्थानमा समेत निर्यात गर्दै आएको सैजु जुजु दही भण्डारका सञ्चालक रामेश्वर सैजु बताउँछन् ।
भक्तपुरका कतिपय जुजु धौ पूर्खौली पेशाको रुपमा स्थापित रहेको छ । कोभिड–१९ सुरुहुनुअघि व्यापार राम्रै थियो । तर कोभिड पछि भने दही व्यापार खस्किएको छ । मागअनुरुप मात्रै दही उत्पादन हुने गरेको छ । विभिन्न भोजभत्तेर र पाटी प्यालेसमा समेत जुजु धौको उपभोग बढ्न थालेको छ । डेरीमा उत्पादन हुने दही भन्दा परम्परागत रुपमा बन्ने जुजुको स्वाद उत्कृष्ट भएको कारण पाटी प्यालेसतिर माग बढ्न थालेको रामेश्वर सैजुको भनाई छ ।
दूध उत्पादनमा कमी आएसँगै जुजु धौको उत्पादनमा समेत समस्या आउन थालेको छ । जुजु धौको वास्तविक स्वाद आउनका लागि फाइट ५ सम्म भएको भैसीको दूधको आवश्यकता पर्दछ । तर आजकल दूध धेरै आउने दाना, भिटमिन र औषधि खुवाउनाले दूधको गुणस्तर ह्रास हुन थालेको छ ।
दही बनाउनका लागि थोरैमा पनि एकदेखि डेढ घण्टाको समय दूध उमाल्नुपर्ने हुन्छ । भिटामिन, दाना र औषधि खुवाएको दूधमा स्वाद नहुने र पकाउँदा धेरै नै घट्ने गरेको लक्ष्मि सैजु बताउँछिन् । दूध घटेपछि दहीको मूल्य बढेको उनको भनाई छ । पहिलेको दाँजोमा दूध पाउन समेत समस्या हुन थालेको छ ।
कसरी बन्छ जुजुधौ ?
विहानै गाउँबाट संकलन भएर आएको दूधलाई ठूल्ठूला कराइमा एकदेखि डेढ घण्टासम्म दूधलाई पकाइन्छ । दूधलाई जम्न नदिन पन्यूले चलाइरहनुपर्छ । यसरी लामो समयसम्म पकाउँदा दूधमा मिसिएको पानी सुक्दै जान्छ र दूधमात्र बाँकी रहन्छ । उक्त दूधलाई धानको भुसमाथि राखिएको कटारा (माटोको भाँडा) मा राखिन्छ ।
तिनदेखि चार पटकको पालामा बल्ल कटारा भर्ने गरि दूध भराइन्छ । एकै पटक दूध भराउँदा लामो समयसम्म तातो रहने र दही जम्न समय लाग्ने भएकोले थोरै थोरै गरेर दूध हालिन्छ । कटारामा राखिएको दूध मन तातो भएपछि दहीको विउ (कल्चर) राखिन्छ । कटारामा विउ राखिसकेपछि कटाराकै भाँडोले छोपिन्छ । कटारामाथि बाक्लो गरि जुटको बोराले छोप्ने गरिन्छ ।
धानको भुस र जुटको बोराले हावा पस्न नदिने र दही राम्रोसँग जम्ने गर्छ । यसरी राखिएको लगभग ४ घण्टापछि जुजु धौ तयार हुन्छ । आजभोली बजारमा कटाराभन्दा प्लाष्टिकका बट्टामा दहीको माग हुने गरेको रामेश्वर सैजु बताउँछन् । तर दही भने कटारामै राम्रो हुने उनको अनुभव छ ।

जुज धौबारे भक्तपुरक स्थानिय सरकारकोे योजना के छ ?
भक्तपुर नगरपालिकाका मेयर प्रजापतिका अनुसार परम्परागत रुपमा बनाइने दहीलाई अझ व्यवस्थित गर्ने तयारीको थालनी भएको छ । जसका लागि दही व्यवसायी संघको सक्रिय भूमिका रहेको उनको भनाई छ । पूर्खाैदेखि दहि बनाउँदै आएपनि जुजु धौ दर्ता भएको छैन ।

अन्य स्थानका व्यवसायीले जुजु धौको अधिकार लिन खोजेकाले भक्तपुर दही व्यवसायीलाई दर्ता गराउन झकझकाउने काम भइरहेको उनले बताए । भक्तपुरको पहिचान जोडिएको जुजु धौको प्रचारप्रसार र वचावट गर्न नगरपालिकाले जुजुधौ व्यवसायीसँग छलफल गर्दै आएको उनको भनाई छ ।