चियाको बाफसँगै उड्दै छ कलीमायाको जीवन

काठमाडौं । चाबहिल चोकको सडक छेउ लस्करै उभिएको पोलमा मधुरो बत्तिबलिरहेको छ । त्यही मधुर प्रकाशमा विहानीको ४ बजे एउटी बुढि आमा ठेला गुडाउँदै आउँछिन् ।उनले यहि ठाउँमा प्रत्येक विहान यसरी नै ठेला गुडाउन थालेको पनि ३ दशक नाघ्न लाग्यो । चावहिल चोकसँगै सिंगो काठमाडौं शहरले आफ्नो काँचुली फेरिसके तर चावहिल चोकलाई चियाको बाफ सुघाउने कलिमाया राईको जीवन त के दैनिकि पनि फेरिएको छैन ।

सबै मानिसको आ–आफ्नै पीडा र समस्या हुन्छ । पीडाअनुसार जीवन जीउने संघर्ष पनि फरक हुने गर्दछ । तर अरुको भन्दाआफ्नो पीडा नितान्त फरक लाग्छ कलिमायालाई । चावहिल चोकमा चिया बेच्दै आएकी कलिमायाको जन्म भारतमा भएपनि बाल्याकाल भने सिन्धुपाल्चोकमा बित्यो । ९ वर्षको उमेरमा आमाबुबाले सिन्धुपाल्चोक छाडेर गए । बुबाआमा दुवैले फरक–फरक व्यक्तिसँग दोस्रो विवाह गरेपछि उनी सहारा विहिन जस्तै बनेकी थिइन् । यसका कारण उनी काठमाडौंको चाबहिलसम्म चिया बेच्न आइपुगेकी थिइन् ।

आमाबुबाले साथ छाडेपछि उनी काकाकाकीको शरणमा पुगेकी थिइन् । काकाकाकीको मायामा जन्मदिने आमाबुबाको माया कहाँ पाउथिन् र ।मायाको अभावसँगै कहिल्यै पनि आँखा ओभानो नभएपछि उनी घर छाडेर हिँडेकी थिइन् । अभिभावकको मायाको खोजीसँगै भोको पेट भर्न उनी अरुको घरमा काम गर्न बसेकी थिइन् । घर छाडेर गाउँतिर यताउता भौतारिएकी उनी ३ वर्षपछि काठमाडौं आइपुगेकी थिइन् । चिनेजानेको कोही थिएन । खाने गाँस र ओत लाग्ने बास समेत ठेगान नभएका उनी निक्कै भौतारिइन् । सडक पेटीमा बस्ने र गीटि बालुवा बोक्ने काम पनि गरिन् ।
बालुवा बोक्ने काममा भेटिएका साथीसंगीसँग चिनजान बढ्दै गयो । काम गरेको पैसाले कोठा खोजेर बस्ने व्यवस्था पनि गरिन् ।

उनले कोठा लिएर बस्दा एउटा कोठाको तिन सय रुपैयाँमात्र थियो । लगभगतिन दशकपछि उनी अहिले ३ हजार रुपैयाँको कोठामा बस्दै आएकी छिन् । सँगै काम गर्ने साथीसँगै बसेकी उनी केही असहजता आइपरेपछि भने एक्लै बस्न थालिन् । कोठा भाडा तिर्ने र बिहान बेलुकीको छाक आफैले टार्नुपर्ने भएपछि त्यहीअनुरुप कमाउन उनी काठमाडौंको विभिन्न ठाउँमा पुगिन् । कामको सिलसिलामा सुन्दरीजल पुगेकी उनी एक वर्षसम्म सोही स्थानमा काम गरिन् । एक वर्षको समय उनी आफैले ढलानको ठेक्कालिने र अरुलाई काम दिने समेत गरिन् ।काम सजिलो थिएन । भारी बोक्ने, चिसोमा दिनभरी पानी चलाउनु पर्ने हुन्थ्यो । शारिरिक कष्ट धेरै भएपछि उनलाई यो काम गर्न गाह्रो हुनथाल्यो । एक वर्षको समयमा कमाएर जोगाएको केही पैसाले व्यापार गर्ने सोचमा पुगीन् उनी ।

कामको अनुभव र पैसाको महत्वलाई नजिकबाट नियालेकी कलिमाया बालुवा बोक्ने काम छाडेर अन्तत चिया व्यापारमा मोडिइन् ।जीन्दगीमा थुप्रै उतार चढाव भोगेकी कलिमाया आजभोली हरेक विहान चावहिल चोकमा चियाको बाफ उडाउँछिन् । हरेकविहानीको चिसो हावा, मिरमिरे उज्याले अनि साँझको झिसमिसेले उनलाई दैनिक नियाल्ने गरेको छ । ठेलामाथि भकभक उम्लिरहेको चियाअनि ठेला वरपवर ५,७ वटा मुडा छरिएको छ । जति पनि ग्राहक आउँछन् उनले बनाएको चियाको चुस्किमा रमाउँछन् ।यसैबाट उनले मासिक १२ हजारसम्म कमाइ पनि गर्छिन् ।

सडकमा गुडिरहेका सवारी साधनले उडाएको धुलो धूवाँमा बस्न पटक्कै रहर छैन उनलाई । तर नबसेर पनि के गर्नु, पापी पेट पाल्नै पर्यो । उमेरले ६ दशक काट्ने मेलो मेसो गर्दैछ ।बुबाआमाले छाडेदेखि उनी एक्लै जीन्दगीको संघर्ष गर्दै आइरहेकी छिन् । उनको आगे पिछे कोइ छैन । हात खुट्टा लागेसम्म त जसोतसो कमाएर खाउँला । हात खुट्टा बसेपछि के गर्ने ?कसले हेर्ने ? यस्तै प्रश्न र प्रतिप्रश्नले हरेक रात सताउने गर्छ उनलाई ।

चाबहील चोक भिडमभिड हुन्छ । चिया उमाल्दै त्यो दृश्यलाई नजिकबाट नियाल्दै बस्छिन् कलिमाया । अहिले चोक सुनसान छ । सबै दशैंका लागि घर पुगिसके । घर जान रहर त उनलाई पनि लाग्छ । तर ३ दशक अघि छोडेर आएको काकाकाकी कता छन् थाहा छैन उनलाई । आफ्नै–आफ्नै जीवनमा रमाउन बाटो लागेका बुबाआमा कता छन् ?त्यो पनिथाहा छैन । न त उनीले कोही कसैसँग वैबाहिक सम्बन्ध नै गाँसिन। कस्को र कहाँको घर जाने ?थाहा छैन उनलाई । जीन्दगी र भविष्यको चिन्ता छैन उनलाई तर बुढेसकालको साहारा नहुँदा चिन्तामा पर्ने गरेकी छन् कलिमाया ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.