भाइरल ज्वरोका बिरामी बढ्दै

सप्तरी।   बढ्दो गर्मीसँगै सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढ्न थालेका छन् । सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पतालमा अहिले भाइरल ज्वरो, टाइफाइड, पखाला, रुघाखोकी, सर्पदंशलगायत विभिन्न रोगका बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाइएको छ ।

केहि दिनयता उपचारका लागि अस्पताल आउनेमा भाइरल ज्वरोका बिरामी बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जीत झाले बताए । एक सातादेखि अस्पतालमा ज्वरो, रुघाखोकीलगायत भाइरलका बिरामीको सङ्ख्या बढेको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित भएको उनको रहेको छ । मौसम परिर्वतनका कारण अस्पतालमा भाइरल ज्वरो र रुघाखोकीको बिरामीहरुको चाप बढदै गएको मेडिकल सुपरिटेन्डेन्ट झाले बताए ।

यो महिनामा पनि दिउँसो अत्याधिक गर्मी भएसँगै अस्पतालमा दैनिक ६० देखि ७० जनासम्म बिभिन्न रोगका बिरामी अस्पतालमा भर्ना हुन आउने गरेको उनको भनाई रहेको छ । उनका अनुसार, आकस्मिक कक्षमा करिब २५÷३० शैया रहेको अस्पतालमा बिरामीको चाप बढेपछि अहिले अस्पतालमा शैयाको समेत अभाव हुन थालेको छ ।

अस्पतालमा शैयाको अभाब हुदाँ केही बिरामीलाई भुईँमा राखेर उपचार गर्नुपरेको त्यहाँ कार्यरत चिकित्सकले बताएका छन् । गर्मी बढेसँगै जिल्लामा रहेका एक सरकारी अस्पताल गजेन्द्रनारायण सिँह, अन्य स्वास्थ्य केन्द्र र सवास्थ्य चौकीमा समेत भाइरल ज्वरो तथा टाइफाइडका बिरामी उपचारका लागि आउने गरेको स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले बताउँदै आएका छन ।

अहिले जिल्ला अस्पताल र ग्रामीण भेगका स्वास्थ्य केन्द्रहरूमा पनि बिरामीको भीड लाग्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । ग्रामीण क्षेत्रबाट अहिले दैनिकजसो टाउको दुख्ने, ज्वरो आउने बिरामी अस्पतालमा आइरहेका छन् । अस्पतालमा उपचारका लागि भर्ना भएकामध्ये आधाभन्दा बढी ५ खेखि ७ दिनभित्र निको हुने र कसैलाई साता दिनभन्दा बढी सताउने गरेको अस्पतालका चिकित्सकहरूले बताएका छन् ।

निमोनियाबाट भने बालबालिकाहरू बढी प्रभावित भएको अस्पतालले जनाएको छ । मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेको अनुमान अस्पतालको छ । त्यस्तै जिल्लाको निजी अस्पतालमा समेत भाइरल ज्वरो, पखाला, रुघाखोकीका बिरामी उपचारका लागि आउने गरेको बताइएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.