वर्षौँदेखि अलपत्र भएका योजनाले प्राथकिकता पाउँने

बागलुङ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङले विगत धेरै वर्ष पहिलेदेखि अलपत्र योजनालाई प्राथमिकता दिएर निर्माण गर्ने भएको छ । रकमको अभावले दशकौदेखि अलपत्र आयोजनालाई प्राथमिकतामा राखेर काम गर्ने लक्ष्य निर्धारण गरेको कार्यालयका इन्जिनियर विक्रम शाहले जानकारी दिए ।

त्यसको लागि बाँकी योजना, लागत स्टिमिट र योजना अध्ययनको काम भएको उनको भनाइ रहेको छ । विशेषगरी निर्माणाधीन, सानो बजेट थप गर्दा उपभोक्ताले पानी खान पाउने योजना प्राथमिकतामा राख्न गण्डकी प्रदेश सरकारको खानेपानी मन्त्रालयले निर्देशन दिएको हो ।

खानेपानी मन्त्रालयका महाशाखा प्रमुख प्रेम डोटेलले मन्त्री हरिशरण आचार्यको निर्देशन बमोजिम आधारभूत तहको खानेपानी सबैलाई पुर्‍याउन पहल गर्ने र दोश्रो चरणमा अन्य योजनामा हात हाल्ने भनेपछि पुराना योजना प्राथमिकतामा परेका हुन । मन्त्रालयले सबै जिल्लाका क्रोनिक योजनाको अध्ययन थालेको इन्जिनियर शाहले बताएका छन ।

तीमध्ये बागलुङको पैयुँपाटास्थित खानेपानी स्किम नम्बर ३ को आयोजनासमेत बनाउने लक्ष्य राखिएको छ । उक्त खानेपानी आयोजना बर्षौदेखि अलपत्र छ । दशकअघि यो योजना सुरु भएको थियो । तर, टुक्रे बजेटकै कारण यो आयोजना पनि पूरा नभएपछि उपभोक्ताले सास्ती खेपेको अध्यक्ष एकनाथ रेग्मीले गुनासो गरे ।

‘‘बजेट थोरै आएको छ, बनाउँदा बनाउँदै केही खण्डमा पहिरोले पाइप बगायो, इन्टेकका कतिपय सामान बिग्रिसकेका छन्,’ उनले भने, ‘आयोजनाको काम नियमित नहुँदा समस्या भएको छ । ९ करोड ८४ लाखको यो आयोजनाबाट ३५० घरधुरीले शुद्ध खानेपानी पाउने गरी काम थालिएको हो ।ु

यो आयोजना पूरा गर्न अझै डेढ करोड खर्च लाग्ने अनुमान गरिएको इन्जिनियर शाहले बताए । आयोजनाका ३५० घरमै धारा बनिसकेका छन् । अब सबैमा टुटी राख्न मात्रै बाँकी छ । शाहले भने यो बर्ष धारोमा पानी खस्ने गरी काम गर्ने लक्ष्य छ ।

वडा तहमा पनि बजेट कम भएकोले लगानी गर्न नसकेकोले डिभिजन र मन्त्रालय ताकेको वडा अध्यक्ष नारायण शर्मा पौडेलले बताए । ‘सानोतिनो मर्मतमा हामीले लगानी गरेकै छौं, तर मुख्य काममै लगानी पुगेको छैन,’ उनले भने, ‘वर्षमा ५र७ लाख बजेट आउँदा बनिसकेका संरचना पनि ध्वस्त हुन्छन ।’

गण्डकी प्रदेश खानेपानी तथा सरसफाइ महाशाखाका प्रमुख प्रेम डोटेलले आवश्यकताको आधारमा बजेट विनियोजना गरी अलपत्र योजना पूरा गर्ने बताए ।

रायडाँडा कुश्मीसेरा खानेपानी आयोजना पनि वर्षौंदेखि रोकिएकोले उचित बजेट विनियोजन गरेर काम सक्न उपभोक्ता समितिका अध्यक्ष रुद्रप्रसाद आचार्यले आग्रह गरे । ५१९ घरधुरी उपभोक्ताले वर्षातमा हिलो पानी छानेर खान बाध्य भएको भन्दै आधारभूत खानेपानी पुर्‍याउन उनले माग गरे ।

२०६७ सालमा नेपाल सरकारको केन्द्रीय आयोजनाअन्र्तगत यो खानेपानी आयोजनाको काम थालिएको हो । त्यतिबेला ७ करोड १३ लाख स्टिमेट गरिएको थियो । स्थानीयले पाइपलाइन बिच्छ्याउने, ढुंगागिटी र बालुवा खेप्ने गरी २ करोड १६ लाखको श्रमदान पनि गरिसकेका छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.