लगातारको वर्षाले देशको अधिकांस भागमा बाढी, पहिरोको प्रकोप

काठमाडौं । गत असोज ३० गतेबाट परेको पानीले देशभर बाढी पहिरो गएको छ । पानीका कारण तराई क्षेत्र डुबानमा परेको छ भने हिमाली भेगमा भारी हिमपात भइरहेको छ । जसका कारण जनजीवन प्रभावित बनेको छ ।

लगातार परिरहेको पानीका कारण कर्णाली, महाकाली, नारायणी, गण्डकी, सेती नदी लगायतमा पानीको सतह बढेसँगै नदी वरपर बाढी गएको छ । उक्त नदी क्षेत्रका किनारा तथा टापुमा सयौंको संख्यामा मानिसहरु फसेका छन् । पहाडी क्षेत्रमा भने पहिरो जान थालेको छ । मंगलबार दिउँसोसम्म बाढी र पहिरोमा परि ३ जनाले ज्यान गुमाइसकेका छन् ।

बाढीमा फसेका कतिपयलाई हेलिकप्टरको माध्यमबाट उद्धार कार्य भइरहेको छ भने कतिपय क्षेत्रमा उद्धार गर्न सकिएको छैन । जल तथा मौसम विभागका अनुुसार भने यो वर्ष मनसुन राम्रो भएकोले अझै पानी परिरहेको छ ।

मध्य भारत र बंगालको खाडीमा बनेको न्युन चापीय प्रणालीका कारण नेपालमा वर्षा हुने गर्दछ । हाल यी दुई क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको असरले गर्दा नेपालमा वर्षा भइरहेको मौसम विभागले जनाएको छ । मौसममा तत्काल सुधार आउने सम्भावना भने कम रहेको छ ।

मौसम विभागका अनुसार अझै २ दिनसम्म पानी पर्ने सम्भावना रहेको छ । विहिवारबाट भने मौसममा सुधार आउने देखिएको छ । वर्षाको सम्भावना कम भएपनि तत्काल घाम लागिहाल्ने अवस्था छैन ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.