काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमको मुद्दामाथि सुनुवाइका लागि आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ । आलम विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग समेत गरेको अभियोगमा हिरासतमा छन् । उनले जमानतमा रिहाइका लागि माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
शुक्रबार न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा आलमको रिट निवेदनको सुनुवाई हुँदै छ ।
आलम रौतहटबाट निर्वाचित सांसद हुन् । उनी २०७६ असोज २६ मा पक्राउ परेका हुन् । जिल्ला अदालत र उच्च अदालतले उनलाई हिरासतमै राखेर मुद्दा प्रक्रिया अघि बढाउन आदेश दिएको छ । तल्लो अदालतको सो आदेशविरुद्ध आलमले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् ।
यसअघि पटक पटक पेसी तोकिए पनि उक्त रिट निवेदनमा विभिन्न कारणले सुनुवाई स्थगित हुँदै आएको छ ।