कास्कीमा एक महानगरसहित कास्कीमा पाँच स्थानीय तह छन् । तीमध्ये अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष मात्रै कांग्रेस उम्मेदवारले जितेको छ ।
पोखरा । २० भदौ
कास्कीका जनप्रतिनिधिहरुले एमालेमै रहने भन्दै सनाखत गरेका छन् ।
वडा सदस्यदेखि पालिका, प्रदेश र प्रतिनिधिसभासम्म कास्कीमा एमालेबाट दुई सय ८१ निर्वाचित प्रतिनिधिहरुले एमालेमै रहने भन्दै सनाखत गरेका हुन् । कास्कीमा एक महानगरसहित कास्कीमा पाँच स्थानीय तह छन् । तीमध्ये अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष मात्रै कांग्रेस उम्मेदवारले जितेको छ ।
२०७४ को प्रदेश र प्रतिनिधिसभामा माओवादी केन्द्रसँग तालमेल गरे पनि स्थानीय निर्वाचनमा दुई पार्टीबीच एकता थिएन । पोखरा महानगरपालिका र गाउँपालिकाका केही वडाहरूमा कांग्रेससँग माओवादीको सहकार्य थियो । नेकपा गठन भएपछि विभाजन भयो । एमाले र माओवादी केन्द्रको एकता खारेज भयो । दुवै पार्टी अलग अलग भए । अहिले एमालेसमेत विभाजित भएको छ ।
जिल्ला पार्टी कार्यालयले सबै जनप्रतिनिधिलाई बोलाएर विभाजनमा नलाग्न प्रतिबद्ध बनाएको हो । ‘केही जनप्रतिनिधिहरू काम विशेषले आउन पाउनु भएन । अधिकांश आउनुभएको थियो,’ एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले भने, ‘आएकाहरू सबैले एमालेमै रहन्छु भनेर हस्ताक्षर गर्नुभएको छ । कास्कीमा शतप्रतिशत जनप्रतिनिधि एमालेमै हुनुहुन्छ ।’
एमाले विभाजित नहुनुमा मुख्य कारण नै निर्वाचनका बेला भएको टिकट वितरण हो । कास्कीमा एमालेभित्रै पनि माधवकुमार नेपाल खेमा अलिअलि थियो । नेपालको पक्षमा खुलेका नेताहरूले २०७४ को निर्वाचनमा टिकट पाएनन् । अधिकांश अध्यक्ष केपी ओली निकट नेताहरूले निर्वाचन जितेकाले अहिलेको विभाजनमा नेपाल समूहतिर लाग्ने जनप्रतिनिधि कम भएका हुन् ।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य श्रीनाथ बराल भने एमालेको दाबी जस्तो शतप्रतिशत जनप्रतिनिधि उनीहरूसँग नभएको बताउँछन् । ‘टिकट दिने बेलामै पक्षपात भएको थियो । हाम्रो संघर्ष आजको होइन नि । उतिबेलैदेखि दमन र थिचोमिचोमा थियौं,’ उनले भने, ‘त्यसैले हामी निकट जनप्रतिनिधि खासै हुनुहुन्न । तर एमालेले गरेको दाबी सही होइन । २२ भदौसम्म सनाखत गर्दा उत्साहजन रूपमा जनप्रतिनिधिहरू विभाजनमा आउनुहुन्छ ।’
कास्कीमा पालिका प्रमुख र उपप्रमुख विभाजनमा नलागेको उनले बताए । तर वडाध्यक्षदेखि वडा सदस्यहरू धेरैले एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने उनको दाबी छ । २२ भदौसम्म स्थानीय जनप्रतिनिधिलाई राजनीतिक दल छनोट गर्ने समयावधि दिइएको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीले हालसम्म कोही पनि जनप्रतिनिधि सनाखतमा नआएको जनाएको छ ।
‘हामीले पालिकालाई पत्र पठाएका छौँ, अहिलेसम्म कोही पनि सनाखत गर्न आउनुभएको छैन,’ निर्वाचन कार्यालयका रुद्र न्यौपानेले भने, ‘सांसद पनि कसैले हस्ताक्षर गर्नुभएको छैन ।’
विभाजनपछि तल्लो तहमा संगठन विस्तार गर्ने उद्देश्यले एमालेले सबै जिल्ला सदस्यहरूलाई कामको जिम्मेवारी दिएको छ । जिल्लाका ७२ वटै वडामा जिल्ला सदस्यको नेतृत्वमा भूगोल कमिटी बनाएर जिम्मा दिइएको सचिव दामोदर बैरागीले बताए ।