कर्मचारीलाई दुर्व्यवहार गर्ने पार्टीका कार्यकर्ता ७ दिन हिरासतमा

जनकपुरधाम । खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश्वर कुशवाहमाथि दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ जना कार्यकर्ताविरुद्ध अहिले प्रहरीले अनुसन्धान सुरु गरिरहेकाे छ ।

जनमत पार्टीका कार्यकर्ताले कुशवाहलाई हिजो शरीरमा हिलो छ्यापेर अर्धनग्न अवस्थामा अमानवीय व्यवहार गरेका थिए । पार्टीका कार्यकर्ताले कुशवाहलाई जनकपुरधाम बजार घुमाएका थिए । दुर्व्यवहार गर्ने १७ जना आरोपीलाई अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले जिल्ला अदालत धनुषाबाट अनुमति मागेको छ।

धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतका अनुसार जिल्ला अदालतबाट उनीहरुलाई सात दिनको लागि हिरासतमा राख्न अनुमति प्राप्त भएकाे छ ।

जनमत पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र महतो, सर्लाही जिल्लाका सदस्य दुर्योधन यादव, धनुषा अध्यक्ष ओमविक्रम कुशवाह, प्रेमकिशोर यादव र विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादवसहित १७ जनाविरुद्ध अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

अभियोगमा प्रमाणित भएमा उनीहरुलाई अधिकतम चार वर्ष कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रहरीले जनाएको छ ।

आफ्ना कार्यकर्ता पक्राउको विरोधमा जनमत पार्टीले आज जनकपुरधाममा प्रदर्शन गरेको छ । नगर परिक्रमा गरेको जनमत पार्टीले जिल्ला प्रहरी कार्यालयबाहिर धर्ना समेत दिएको थियो ।

प्रदर्शनकारीले पक्राउ परेका कार्यकर्ताकाे रिहाइको माग गरेका छन् । प्रदर्शन र धर्नाका क्रममा रहेकाहरुलाई प्रहरीले लाठीचार्ज गर्दा चार जना घाइते भएका पार्टीले बताएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.