पुत्लादहन कानुनविपरीत : गृहमन्त्रालय
तर, कुन ऐनमा टेकेर प्रतिबन्ध लगाइएको हो भन्ने कुरा भने खुलाइएको छैन ।

काठमाडौं । २० भदौ

गृह मन्त्रालयले कानुनविपरीत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा जुलुस तथा प्रदर्शन गरेकाले सचेत गराउनुपरेको बताएको छ । 

दार्चुलाका जयसिंह धामी मृत्यु प्रकरण तथा नेपाली भूभागमा भारतीय सुरक्षाकर्मीले हेलिकोप्टर उडाएको घटनालाई लिएर प्रदर्शन बढ्न थालेपछि सरकारले कानुनविपरीत भन्दै विज्ञप्ति नै जारी गरेर रोक लगाउने प्रयास गरेको छ ।

गृहमन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले मित्रराष्ट्रका सरकार प्रमुखविरुद्ध देशभित्र दिनदिनै पुत्लादहन हुन थालेपछि बाध्य भएर कानुन सम्झाउनुपरेको प्रस्टोक्ति दिएका छन् । ‘कानुनले नै पुत्लादहनलाई प्रतिबन्ध लगाएको छ, त्यसमाथि मित्रराष्ट्रको सरकार प्रमुखविरुद्ध निरन्तर प्रदर्शनले कूटनीतिक सम्बन्धमा असर पर्ने भएकाले विज्ञप्ति जारी गरिएको हो,’ पोखरेलले भने, ‘पुत्लादहन नगर्न मन्त्रालय अनुरोध गर्दछ ।’

तर, उनले कुन ऐनमा टेकेर प्रतिबन्ध लगाइएको हो ? त्यो भने खुलाएनन् । भने, ‘फौजदारी काुननअन्तर्गत पर्छ होला ।’ तर, जुलुस मात्रै गरेका कारणले विज्ञप्ति जारी नगरिएको उनको भनाइ छ ।

मन्त्रालयले प्रदर्शनमा रोक लगाउन निर्देशन दिनुलाई अभिव्यक्ति स्वतन्त्रतामा बन्देज नलगाएको पनि उनको जिकिर छ । ‘प्रेस विज्ञप्ति जारी गरेर अभिव्यक्ति स्वतन्त्रतामा सरकारले बन्देज लगाएको छैन, अलिकति कानुन सम्झाएको हो,’ पोखरेलको भने, ‘अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार गम्भीर र सचेत छ ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.