ओखलढुुंगा । नेकपा एमालेको वडा अधिवेशन सुरु भएको छ । जिल्लाका ७५ वटा वडामा अधिवेशन सुरु भएको नेकपा एमाले जिल्ला कमिटी सचिव शंकर कटवालले जानकारी दिए ।
जिल्लाका ७५ वडामा नेकपा एमालेको प्रथम विधान महाधिवेशनबाट पारित विधान अनुसार अधिवेशन सम्पन्न हुने कटवालले बताए । ‘सकेसम्म सबै वडामा सर्वसम्मत नेतृत्व चयन गर्ने, असम्भव भएमा स्वस्थ लोकतान्त्रिक पद्धति अपनाइनेछ’ उनले भने ।
कतिपय वडामा यस अघि निर्माण गरिएको अधिवेशन आयोजक कमिटी नै अनुमोदन हुने र कतिपयमा हेरफेर हुने एमालेले जनाएको छ । एमालेको वडा तहकाे नेतृत्व चयनमा खास मतभेद देखिएको छैन ।
वडामा सहमति, पालिका र जिल्लामा गुटबन्दी
पालिका तथा जिल्ला तहमा भने एमालेमा ओलि समूह र १० बुँदे पक्षधर समूह सक्रिय छन् । ओलिभित्र पनि खासगरी ईश्वर पोखरेल नजिक रहने नेताहरुले गुट निर्माण गरेका छन् ।
त्यसको नेतृत्व किशोर अधिकारी, नानीबाबु बुढाथोकी, अम्बीरबाबु गुरुङ, शकुन्तला राजभण्डारी, तीर्थ सुवेदी लगायतले गरेका छन् । यो समूहमा माओवादीबाट प्रवेश गरेका बालकृष्ण ढुंगेल, सुरेश थापा, अशोक थापालगायतका जिल्ला तहका नेताहरु पनि छन् ।
१० बुँदे पक्षधरहरुको नेतृत्व यज्ञराज सुनुवारले गरेका छन् । यो समूहमा नेताहरु हर्कबोल राई, मणिराज राई हरिकुमार राई, गोविन्द पौडेल, सुनिल खड्कालगायत छन् ।
ओली पक्षीय समूहमा भने चर्को विवाद छ । प्रदेश सांसद अम्बीरबाबु गुरुङ, नानीबाबु बुढाथोकी, बालकृष्ण ढुंगेल, तीर्थ सुवेदीलगायतको एक र केन्द्रीय सदस्य किशोर अधिकारी, मोहन श्रेष्ठ, सीताराम गुरुङ लगायतको अर्को उपसमूह छ ।
यो विवादमा खेलेर १० बुँदे पक्षधर नेताहरुले राजनीतिक संस्कार भएका नेताहरुको मजबुद समूह निर्माण गर्न खोजेको एक जिल्ला नेताले बताए । उनले भने, ‘अब एमालेमा राजनीतिक र गैरराजनीतिक समूहको धुव्रीकरण हुन्छ, गैरराजनीतिक समूह क्षणिक लाभहानीमा लागेकाले दीर्घकाल टिक्दैन ।’
एमालेमा माओवादी कन्द्रेबाट प्रवेश गरेका र व्यापार व्यवसायबाट राजनीतिमा आएकाहरुलाई ‘राजनीतिक संस्कार’ नभएका भनेर मतदाता, कार्यकर्ताहरुले आलोचना गर्ने गरेका छन् । कार्यकर्ताहरु माथि गरिने व्यवहारका आधारमा नेताहरुको वर्गीकरण मतदाता तथा कार्यकर्ता तहबाटै हुने गरेको छ ।