काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दशबुँदे सहमति नाममा नेकपा एमालेमा बस्नेहरुको विजोग भएको बताएका छन् ।
शनिबार सिन्धुपाल्चोकमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘आदेशको पालना गर्यो भने स्यावास ! बस्न पाउँछ । आदेशको पालना गरेन भने कति ट्याउँ ट्याउँ गरेको कति ट्याउँ ट्याउँ गरेको १० बुँदेको… उनले भने, ‘सुन्नुभएको छैन १० बुँदेको ट्याउँ ट्याउँ । १० बुँदे भन्ने साथीहरुकाे कस्तो हरिविजोग । कुनै मर्यादा छैन । कुनै सम्मान छैन ।’
शुक्रबार मात्रै एमालेमा रहँदा नेपाल समूहमा रहेका भीम रावलले १० बुँदे कार्यान्वयनका लागि बनेको संयोजकबाट राजीनामा दिएका छन् ।
शनिबार सोही विषयलाई लिएर केपी शर्मा ओलीले १० बुँदेमा बाँकी रहेका विषय कार्यान्वयन हुँदै जाने बताएका छन् । भीम रावलले पदबाट राजीनामा दिनु सामान्य कुरा भएको ओलीकाे भनाइ छ ।
गत बुधबार एमाले अध्यक्ष ओलीले माधव नेपालले पार्टी फुटाउदैनन् कि भनेर मात्र १० बुँदे सहमति गरेको, भन्दै बदलिएकाे परिस्थितिमा त्यसको कुनै अर्थ नभएको टिप्पणी गरेका थिए ।