गुल्मी । नेकपा एमाले गुल्मीले ८४ वडामा अधिवेशन सम्पन्न गरेको छ । आइतबार र सोमबार चार स्थानीय तहका नौ वडामा अधिवेशन हुँदै छ ।
रेसुंगा नगरपालिका, मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका, छत्रकोट गाउँपालिका, रुरु क्षेत्र गाउँपालिका, कालिगण्डकी गाउँपालिका र चन्द्रकोट गाउँपालिकाका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले सचिव सोमनाथ सापकोटाले जानकारी दिए ।
मालिका गाउँपालिकाका चार, धुर्कोट गाउँपालिकाका एक, मदाने गाउँपालिकाका एक, गुल्मीदरबार गाउँपालिकाका दुई र सत्यवति गाउँपालिकाको एक वडामा अधिवेशन भएको छैन ।
मालिका गाउँपालिकाको वडा नं ४, ५, ६ र ८ वडामा वडा अधिवेशन नभएको एमाले नेता शोभाखर गिरीले जानकारी दिए ।
अरु चार वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।
धुर्कोट गाउँपालिका–१ नयाँगाउँको वडा अधिवेशन मंगलबारका लागि सारेकाे छ । अरु ६ वडामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले नेता नारायण पोख्रेलले बताए ।
मदाने गाउँपालिकाका पाँच वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । वडा नं ४ मा वडाध्यक्ष भीमप्रसाद भट्टराईका बावुको निधनको कारण अधिवेशन रोकिएको मदाने गाउँपालिका उपाध्यक्ष तथा एमाले नेतृ सरिता खड्काले जानकारी दिइन् ।
वडा नं ३ मा अध्यक्ष पदमा तीन जनाको उमेद्वारी परेकाले सोमबार पुन: सर्वसम्मत वा निर्वाचन गराएर भए पनि अधिवेशन सम्पन्न हुने खड्काले बताइन् ।
सत्यवति गाउँपालिका वडा नम्बर ८ र गुल्मी दरबार गाउँपालिका वडा नम्बर १ र ३ को अधिवेशन प्राविधिक कारणले रोकिएकाे एमाले जिल्ला अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिए ।
रोकिएका तीन वडाको अधिवेशन आइतबार हुने पन्थले बताए ।
जिल्लाका वडाहरुमा अधिवेशन सम्पन्न गर्न पार्टी कमिटीले एक जना सहजकर्ता र एक जना निर्वाचन अधिकृत तोकेर गाउँ गाउँ पठाएको पन्थले बताए ।