‘बन्टी और बब्ली २’ मा दुई जोेडी बन्टी र बब्ली

काठमाडौं । सन् २००५ को चर्चित बलिउड फिल्म ‘बन्टी और बब्ली’ को सिक्वेल ‘बन्टी और बब्ली २’ को प्रदर्शन मिति तय भएको छ । निर्माण कम्पनी यशराज फिल्मस्ले ‘बन्टी और बब्ली २’ को टिजरका साथ फिल्म नोभेम्बर १९ मा प्रदर्शन हुने घोषणा गरेको हो ।

कमेडी जनराको यो फिल्ममा सैफअलि खान र रानी मुखर्जीका साथमा नवकलाकारद्वय सिद्धान्त चतुर्वेदी र सर्वरी वाघ मुख्य भूमिकामा छन् । झन्डै १६ वर्षपछि निर्माण भएको सिक्वेलमा सैफ र रानीभन्दा नयाँ पुस्ताका सिद्धान्त र सर्वरी हाबी रहेको बताइन्छ ।

पहिलो ‘बन्टी और बब्ली’ मा अभिषेक बच्चन बन्टी र रानी मुखर्जी बब्लीको भूमिकामा थिए । यसपालि भने अभिषेकको स्थान सैफले लिएका छन् । वरुण शर्माको निर्देशनमा बनेको सिक्वेलले पहिलो ‘बन्टी और बब्ली’ भन्दा धेरै सफलता पाउने विश्वास निर्माण पक्षको छ ।

फिल्ममा सैफ र रानी ठगको भूमिकामा छन् । सिद्धान्त र सर्वरी भने डिजिटल जमानाका स्मार्ट ठगको भूमिकामा रहेको बताइन्छ । जमाना बदलिएसँगै चोरको चोर्ने तथा ठगको ठग्ने तरिका पनि स्मार्ट भएको र फिल्ममा सोही कुराहरू प्रस्तुत गरिएको बताइन्छ ।

आदित्य चोपडाले निर्माण गरेको फिल्मका अन्य कलाकारमा पंकज त्रिपाठी, यशपाल शर्मा, रोहीत केपीलगायत छन् । सार्वजनिक टिजरमा सैफ र रानी बन्टी मात्रै होइन, सिद्धान्त र सर्वरीलाई पनि बन्टी र बब्लीको रूपमा परिचित गराइएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.