मंगलबार स्वदेश फकियो बक्सिङ टोली
स्वदेश फर्किने तीनै खेलाडी पदक विजेता हुन् ।

काठमाडौं । एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी भइ ३ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली मंगलबार स्वदेश फर्किएको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, प्रवक्ता श्याम अवाले, बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगरलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

६ खेलाडीले प्रतिस्पर्धा गरेकोमा मंगलबार स्वदेश फर्किने तीनै खेलाडी पदक विजेता हुन् । २० देखि ३१ अगष्टसम्म दुबईमा भएको प्रतियोगितामा ६ खेलाडीसहित ११ सदस्यीय टोलीले भाग लिएको थियो । ३ खेलाडीसहित ७ सदस्यीय टोली भने यसअघि नै फर्किसकेको नेपाल बक्सिङ संघले जनाएको छ ।

पुरुष जुनियर ५४ केजीमा छिरिङ वाङदी शेर्पाले कास्य जिते । क्वाटरफाइनलमा कुवेतका खेलाडीलाई ५–० ले पराजित गर्दै छिरिङले सेमिफाइनलमा स्थान बनाएका थिए । सेमिफाइनलमा छिरिङ ताजकिस्तानका खेलाडीसँग चुके । पछि यो स्पर्धामा ताजकिस्तानका खेलाडीले स्वर्ण नै जिते ।

घरेलु प्रतियोगितामा चाबहिलको बक्समान्डुबाट खेल्ने छिरिङको यो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

विमानस्थलमा भएको स्वागत कार्यक्रममा छिरिङले प्रतियोगिताका लागि धेरै मेहनत गर्नुका साथै ट्रेनिङमा बक्सिङ संघ र गुरुहरुले पनि धेरै सहयोग गरेकाले सफलता प्राप्त भएको बताए । छिरिङले सफलताले आगामी दिनमा अझ बढी राम्रो गर्न हौसला मिलेको बताउँदै अबको लक्ष्य युथ च्याम्पियनसिप रहेको बताए ।

महिलातर्फ जुनियर ५२ केजीमा स्वस्तिका तिरुवा तथा युथ ५७ केजीमा नारिका राईले कास्य हात पारे । पहिलो चरणमा वाइ पाउदै सेमिफाइनलमा पुगेपछि दुवैको कम्तीमा कास्य पदक सुनिश्चित भएको थियो । सेमिफाइनलमा दुवै भारतीय खेलाडीबाट पराजित भए । कास्य विजेता खेलाडीत्रयले १ हजार अमेरिकी डलर नगद पुरस्कार जिते ।

बाँकी तीन खेलाडी सुलभ माली, इन्द्रबहादुर सुनार र सुदेन गिरी पहिलो चरणबाटै बाहिरिएको पदक विजेता खेलाडीसंगै स्वदेश फर्किएका प्रशिक्षक दीपक महर्जनले जानकारी गराए ।

अध्यक्ष अवालेले खेलाडीको सफलताले बक्सिङ परिवार मात्र नभई सिंगो मुलुकलाई गौरवान्वित तुल्याएको धारणा व्यक्त गर्दै नेपाली खेलाडी पनि कोही भन्दा कम छैनन् भन्ने सन्देश दिन सफल भएको बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.