बुटवल । हिन्दू राष्ट्र पुनः स्थापनाको पक्षमा जागरण पैदा गर्न भैरहवामा आध्यात्मिक जागरण एकता विराट धर्मसभा सोमबारदेखि सुरु भएको छ ।
अनन्त श्री विभूषित श्री जगतगुरु शंकराचार्य कार्यसमिति सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा भएको विराट धर्मसभा सुरु हुनुअघि शोभा यात्रा निकालिएको थियो ।
सिद्धार्थनगर–४ स्थित श्री रामजानकी, हनुमान मन्दिर प्रांगणबाट सुरु भएको शोभा यात्रा सिद्धार्थनगरका विभिन्न भागको परिक्रमा गर्दै कार्यक्रम स्थल महेन्द्र सभा गृह (पटवा बैंक्वेट) मा पुगेको थियो । शोभा यात्रामा धर्मगुरु तथा विभिन्न धार्मिक संघ–संस्थालगायतको सहभागिता थियो ।
श्री गोवर्द्धन मठ पुरी–पीठका प्रमुख शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वतीजी महाराज धार्मिक सभामा आएका छन् ।
हिन्दू धर्मका धर्माचार्य तथा धर्म गुरुहरूमा वर्तमान समयमा सबैभन्दा उच्च पदमा रहेका शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वतीजी महाराज नेपाल आएपछि हिन्दू धर्मसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रमुख तथा मन्दिर एवं पीठका पीठाधीशहरू भैरहवामा भेला भएका छन् ।
आध्यात्मिक जागरण एकता विराट धर्मसभा कार्यसम्पादन मूल समितिका संयोजक कृष्णप्रसाद शर्माले अनन्त श्री विभूषित श्री जगतगुरु शंकाराचार्य स्वामी निश्चलानन्द सरस्वतीजी महाराजलाई बुद्ध भूमिमा स्वागत गर्न पाउँदा खुसीको अनभुति भएको बताए ।
आध्यात्मिक गुरु तथा हिन्दू विद्यापीठ स्कुलका संस्थापक प्राचार्य डा. चिन्तामणि योगीले नेपाललाई हिन्दू राष्ट्र बनाउने एक मात्र लक्ष्य रहेको बताए ।